बुधबार, माघ २, २०८१
06:04 | ११:४९

बेलायतमा एकै दिन २६ हजार बढी संक्रमित

नेपाली लिङ्क जुन ३०, २०२१

लन्डन– बेलायतमा कोरोना संक्रमण दर उकालो लाग्ने क्रम निरन्तर जारी छ । पछिल्लो २४ घन्टामा संक्रमितको संख्या २६ हजार नाघेको छ । एकसाता अघि बुधबार संक्रमित संख्या १६ हजार १३५ थियो । सोमबार करिब २३ हजार संक्रमित थपिएका थिए भने हिजो मंगलबार २० हजार ४७९ नयाँ संक्रमित थपिएका थिए ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २६ हजार ६८ नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो तथ्यांक अनुसार संक्रमित संख्या एक हप्तामा झन्डै ७० प्रतिशतले वृद्धि भएको छ । यससंगै बेलायतमा कुल संक्रमितको संख्या ४८ लाख नाघेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ । संक्रमणदर वृद्धि भएपनि मृतक संख्यामा भने हालसम्म सामान्य नै छ । बेलायतमा हालसम्म कोरोनाबाट एक लाख २८ हजार १४० जनाको निधन भइसकेको छ । यहां संक्रमण पुष्टि भएको २८ दिनभित्र मृत्यु भएकालाई कोरोना मृतकको रुपमा घोषणा गरिन्छ ।

कोरोनाविरुद्धको खोप वितरण शुरु गरिएयता बेलायतमा ७ करोड ७५ लाख भन्दा बढी डोज वितरण भइसकेको छ । यहाँ ६२ दशमलव ४ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ८४ दशमलव ९ प्रतिशतले पहिलो डोज लगाएका छन् ।

पछिल्लो तथ्यांक अनुसार बेलायतमा ७ करोड ७५ लाख ९२ हजार २१२ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ४७ लाख १९ हजार ७६२ जनाले पहिलो र तीन करोड २८ लाख ७२ हजार ४५० जनाले दोस्रो डोज लगाएका छन् ।

इंग्ल्याण्डमा लकडाउन खुल्न तीन साता भन्दा कम समय बाँकी रहंदा संक्रमण दर तीव्र रुपमा बढेसंगै मानिसमा थप चिन्ता बढेको छ । जुन २१ मा नै लकडाउन पूर्ण रुपमा हटाउने सरकारको प्रतिवद्धता डेल्टा भेरियन्टको प्रभाव बढेपछि जुलाई १९ सम्मका लागि सारिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले आगामी जुलाई १९ मा भने लकडाउन खोल्ने प्रतिवद्धता व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू