उपत्यकामा सार्वजनिक यातायातमा जोर बिजोर प्रणाली लागू
काठमाडौँ–दुई महिनापछि काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा आजदेखि सञ्चालन भएको छ ।
वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोना भाइरसबाट बच्न निषेधाज्ञा जारी गरिएसँगै सार्वजनिक यातायात बन्द भएको थियो ।
काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबारको बैठकले आजदेखि जोर बिजोर प्रणालीमा २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
निर्णयबमोजिम आज उपत्यकामा बिजोर नम्बरका सवारी सञ्चालन भएसँगै चहलपहल केही बढेको छ ।
निषेधाज्ञा जारी भएसँगै उपत्यकाबाहिर गएका यातायात मजदूरका कारण सबै यातायात भने चल्न सकेका छैनन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने २५ भन्दा बढी सिट क्षमताका जोर बिजोर प्रणालीबाट सवारी चलाउँदा भीड बढेर कोरोना सङ्क्रमण बढ्ने खतरा रहेको भन्दै सबै यातायात खुला गरिनुपर्ने माग गरेको छ ।
दुई महिनादेखि यातायात सञ्चालन बन्द हुँदा सबै मजदूरलाई बिहान बेलुकाको छाक टार्नसमेत समस्या रहेको भन्दै महासंघले उपत्यका बाहिरका सवारी पनि खुलाउनुपर्ने माग गरेको हो ।
महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य सोमबारको निर्णयले विभेद गरेको भन्दै यसलाई सच्याउन माग गरिएको बताउंछन् ।
विसं २०६९ देखि नै सार्वजनिक यातायातको भाडा नबढाइएकाले भाडा समायोजन गर्न समेत महासंघले माग गर्दै आएको छ ।
डिजेलको भाउ रु ९५ हुँदा तोकिएको भाडा भाउ बढेर रु १०९ पुग्दासमेत समायोजन हुन नसकेकाले यससम्बन्धी गृहकार्य थाल्न आग्रह गरिएको कर्माचार्यले बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५