बुधबार, माघ २, २०८१
06:00 | ११:४५

स्कटल्याण्डस्थित नेप्लिज हिमालयन एसोसिएसनमा नयाँ नेतृत्व

नेपाली लिङ्क जुन २७, २०२१

लन्डन । स्कटल्याण्ड एबर्डिनवासी नेपालीहरूको साझा संस्था नेप्लिज हिमालयन एसोसियसनले नबीन क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिबार साँझ सम्पन्न अधिबेशनले सर्वसम्मत रुपमा पुनः क्षेत्रीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति घोषणा गरेको हो । समितिको उपाध्यक्षमा सञ्चारकर्मी डा. शिव तिवारी, सचिवमा डा. टंक दाहाल (मुकुल दाहाल) र कोषाध्यक्षमा डा. दिलीप उप्रेती चयन भएका छन् । त्यसैगरी, सह–सचिवमा लव सिम्खडा र सह–कोषाध्यक्षमा श्रीकृष्ण भेटवाल (कृश भेटवाल) छानिए ।

संस्थाको नयाँ कार्यसमितिका सदस्यहरुमा मुना सापकोटा, राज क्षेत्री, सगुन पौडेल, गुरु भण्डारी र शर्मिला अधिकारी चयन भएका छन् । नयाँ कार्यसमितिमा अधिकांश पुरानै पदाधिकारी तथा सदस्यहरू दोहोरिएका हुन् । संस्थाको नयाँ कार्यसमितिको कार्यकाल २ वर्ष हुनेछ ।

अधिवेशनमा अघिल्लो २ बर्षे कार्यकालको प्रगति विवरण र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदनमाथि भएको खुल्ला छलफलपछि बहुमतले पारित गर्दै नयाँ नेतृत्व चयनको प्रक्रियाका लागि पूर्व अध्यक्ष डा. नारायण श्रेष्ठको संयोजकत्वमा ४ सदस्यीय निर्वाचन समिति गठन गरी निर्वाचनको जिम्मा दिइएको थियो । समितिमा संस्थाका पूर्व अध्यक्षहरु टक थापा र मीन भट्ट तथा पूर्व सल्लाहकार अनल गौतम सदस्य थिए ।

नयाँ कार्य समितिको घोषणा गर्दै डा. श्रेष्ठले अत्यन्तै सौहार्दपूर्ण वातावरणमा सर्वसम्मत नयाँ समिति गठन भएकोमा खुशी व्यक्त गरे । उनले नयाँ कार्यकालका लागि शुभकामना दिंदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा नवनिर्बाचित अध्यक्ष क्षेत्रीले सबैलाई धन्यबाद दिदै आगामी दिनमा एबर्डिनमा बसोबास गर्ने नेपाली समुदायको हितलाई प्राथमिकतामा राखेर हरेक सामाजिक गतिविधिमा हातेमालो गर्ने प्रतिवद्दता जनाए ।

मुकुल दाहालद्वारा सञ्चालित कार्यक्रममा पूर्व सल्लाहकारहरूको तर्फबाट तोया सापकोटाले निवर्तमान कार्यसमितिको प्रशंसा गर्दै धन्यवाद तथा नवनिर्बाचित कार्यसमितिलाई बधाई र शुभकामना दिए ।

अधिवेशन समाप्ति लगत्तै बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले निवर्तमान कार्यसमिति, निर्वाचन समिति र एवर्डिनबासी सम्पूर्ण नेपालीलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गरयो । साथै बैठकले निवर्तमान पदाधिकारी तथा सदस्यहरूलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्ने निर्णय गरेको छ । कार्यसमितिको अर्को बैठक आगामी शनिवारका लागि तय गरिएको छ ।

एबर्डिनमा सन् २००७ स्थापित यस संस्थाले विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउंदै आएको छ । संस्थाले कोभिडको यो विषम परिस्थितिमा पनि विभिन्न संघसंस्थाहरुसंगको समन्वयनमा बेलायतमा नेपाली तथा अन्य समुदायलाई झण्डै ४५ हजार पाउण्ड बराबरको सहयोग गरेको छ भने राष्ट्रिय अनुसन्धान केन्द्र, रवि लामिछाने फाउण्डेशन लगायतका संघसंस्थालाई सहयोग रकम नेपाल पठाएको छ ।

त्यस्तै, एनआरएनए यूके स्कटल्याण्ड राज्य समन्वय परिषदमार्फत समेत नेपालीको उपचारका लागि रकम उपलब्ध गराएको छ ।

यस अलवा उक्त संस्थाले नेपाली बालबालिकालाई लक्षित गरी विगत ८ वर्षदेखि निरन्तररुपमा नेपाली भाषा कक्षा सञ्चालन गर्दै आएको छ भने नियमित साहित्यिक कार्यक्रम पनि गर्ने गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू