सोमबार, माघ ७, २०८१
02:51 | ०८:३६

भारतमा कोरोनाका कारण थप ५१ हजार संक्रमित, १३ सयको मृत्यु   

रासस-एएनआई जुन २५, २०२१

नयाँ दिल्ली, ११ असार– भारतमा कोरोनाभाइरसबाट थप ५१ हजारभन्दा बढी नयाँ संक्रमित भएका छन् ।
सरकारी अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार ६६७ जना नयाँ संक्रमित थपिएका हुन् ।

तर, दैनिक संक्रमणमुक्त भएकाहरुको संख्या भने त्योभन्दा बढी छ । त्यसैले संक्रमित अवस्थामै रहेकाहरुको संख्या पनि दिनप्रतिदिन घट्दै गएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले थप ६४ हजार ५२७ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको जनाएको छ ।
भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाहरुको कुल संख्या दुई करोड ९१ लाख २८ हजार २६७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप एक हजार ३२९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या तीन लाख ९३ हजार ३१० पुगेको छ ।

भारतमा अहिलेपनि संक्रमित अवस्थामै रहेकाहरुको कुल संख्या छ लाख १२ हजार ८६८ रहेको मन्त्रालयले जनाएको छ ।

भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ३९ करोड ९५ लाख ६८ हजार ४४८ स्वाब परीक्षण गरिएको जानकारी दिएको छ । ती पछिल्लो एक दिनमा १७ लाख ३५ हजार ७८१ जनाको स्वब परीक्षण गरिएको परिषद्को तथ्यांक छ ।

एकैदिनमा ठूलो संख्यामा कोरोनाभाइरस विरुद्धको खोप लगाउने मुलुक समेत रहेको भारतमा बिहीबार मात्रै ६० लाख ७३ हजारभन्दा बढीलाई खोप लगाइएको छ ।

भारतमा अहिलेसम्म कुल ३० करोड ७९ लाख खोप प्रयोग भएको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू