बुधबार, माघ २, २०८१
00:05 | ०५:५०

बेलायतका मनकारी नेपाली हेलम्बु बाढी पीडितलाई राहत जुटाउंदै

नेपाली लिङ्क जुन २१, २०२१


लन्डन । बेलायती नेपाली डायष्पोरा सांच्चिकै ‘भाइब्रेन्ट’ छ । एउटा जमात पद र प्रतिष्ठाका लागि कोकोहोलो गरिरहेको छ, यहीं अर्को जमात छ, जसलाई नेपालको बाढी पहिरो वितण्डाले रुवाइरहेको छ । नेपालको कारुणिक अवस्था देखेर बेलायतस्थित सामाजिक अभियन्ता लक्ष्मी राई (लारा) र बिक्रम भट्टराई केही सहयोग नजुटाइ बस्नै सकेनन् ।

मातृभूमिमाथि आइलागेको प्राकृतिक विपत्तिमा उनीहरु अहिले सहयोग संकलनमा जुटेका छन् । पहिलो लटमा लत्ताकपडा र सोलार बत्ति गइसकेको छ भने थप सहयोग नेपाल जाने तयारीमा छ ।

सिन्धुपाल्चोकको हेलम्बु निवासी सामाजिक अभियन्ता जिमी लामाले संकलित सामग्री वितरणमा संयोजन गरेका छन् ।

पहिलो लटमा पठाइएको एकसय ५० केजी लत्ताकपडा कार्गोमार्फत भोलि मंगलबार नेपाल पुग्ने बिक्रम भट्टराईले जानकारी दिए ।

हेलम्बु क्षेत्रमा अहिले बिजुली, टेलिफोन, खानेपानीको ज्यादै समस्या छ । बिजुली आपूर्तिको मुख्य समस्यालाई मध्यनजर गर्दै बेलायतबाट पठाइएको रकमले ५० वटा सोलार युनिट किनेर हेलम्बुमा बांडिइसकेको पनि भट्टराईले जनाए । तीन बटा बत्ती बल्ने र एउटा मोबाइल चार्ज गर्न सकिने सोलार युनिटको मुल्य करिब ४ हजार रुपैयां छ । भट्टराईले अर्को लटका लागि ६० केजी लत्ताकपडा संकलन भइसकेको र सोलार युनिटसहित बांकी सहयोग छिट्टै नेपाल पठाइने बताए ।

लारा संस्थापक रहेको च्यारिटी संस्था जुनकिरी इनिसिएटिभमार्फत चन्दा संकलन भइरहेको छ । ‘हामी संकलित रकम एकदम पारदर्शी राख्छौं । पीडितको फोटो खिचेर हामी त्यसबाट सहयोग जुटाउने काम कदापी गर्दैनौं’, भट्टराईले भने ।

लारा, बिक्रमको अभियानमा गायक सपनकुमार राई, मन्जु गुरुङ राई, सुधा गुरुङ, मेनुका खाँड र अञ्जना गुरुङले पनि साथ दिएका छन् । सपन मन्जुले फेसबुक लाइभ सांगीतिक शो गरि झण्डै ४ सय पाउण्ड प्रदान गरेका छन् ।

लारा बिक्रमले मनकारी नेपालीलाई आफ्नो अभियानमा साथ दिन अपिल गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू