बुधबार, माघ २, २०८१
23:59 | ०५:४४

प्रधानमन्त्रीले संसद विघटन गर्दा नेपाललाई खोप सहयोग रोकियोः नेता थापा

नेपाली लिङ्क जुन १९, २०२१

लन्डन–पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान सरकारले कोरोना विरुद्धको खोप किन्ने अवसर गुमाएको आरोप लगाएका छन् ।

शुक्रबार जूममार्फत आयोजित ‘कोभिड विरुद्ध हाम्रो अभियान संवाद शृंखला’ लाई सम्बोधन गर्दै थापाले भने, ‘गत पुष महिनामा प्रधानमन्त्री केपी ओलीले संसद विघटन नगरेको भए अहिलेसम्म नेपालमा खोप आइसक्ने थियो ।’

उनले अगाडि भने, ‘संसद चलेको भए संसदले निर्देशन दिन्थ्यो र सरकार खोप किन्न वाध्य हुन्थ्यो । तर सरकारले त्यो अवसर पनि गुमायो ।’

पूर्व मन्त्री थापाले खोप किन्न खर्च गरिएको पैसा खर्च नभएर लगानी भएको पनि बताए । ‘अधिकांश जनताले खोप लगाइसकेपछि लकडाउन गर्नु पर्दैनथ्यो, अर्थतन्त्र चलायमान हुन्थ्यो र खोप किन्न खर्च गरेको ४०–५० अर्ब रुपियाँ उठिसक्थ्यो’, उनले भने, ‘नालायक र अकर्मण्य प्रधानमन्त्रीका कारण देशले ठूलो क्षति व्यहोर्नु परेको छ ।’

आफू स्वास्थ्य मन्त्री हुँदा भरतपुर अस्पतालमा २ करोड रुपियाँको लागतमा अक्सिजन प्लान्ट बनाउन सफल भएको भन्दै नेता थापाले गत माघ-फागुन महिनामा सरकारले अक्सिजनको प्रवन्ध गर्न नसक्दा सैयौं नेपाली नागरिकको ज्यान गएको बताए । ‘प्रधानमन्त्रीको हातमा हत्याको दाग लागेको छ’, उनले जिकिर गरे ।

उनले कोरोना महामारीका बेला औषधि किन्दा भ्रष्टाचार गर्ने, महँगो चार्टर्ड उडान गरेर कमिशन खाने यस्तो सरकार संसारमै कहीं नभएको दावी पनि गरे । महामारीमा सबै भन्दा महत्वपूर्ण कुरा समय हो । ‘चीन र भारतमा कोरोना महामारी फैलिएको ३०-३५ दिन पछि नेपालमा कोरोना केस देखिएको हो तर सरकारले त्यो समयको उपयोग गर्न सकेन’, उनले भने ।

थापाले आउँदो एक-डेढ वर्ष नेपाली कांग्रेसले सरकार चलाउने अवसर पाउने विश्वास व्यक्त गर्दै तर त्यसका लागि अहिले देखि नै तयारी गर्नुपर्ने जनाए ।

‘नेपालको राजस्व कर्मचारीको तलब, भत्ता दिन मात्रै पुग्छ, विकास निर्माणको काम गर्न ऋण लिनु पर्ने अवस्था छ । त्यसैले नेपालभित्रै लाखौं रोजगारी कसरी सिर्जना गर्ने, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवा कसरी सर्वसुलभ र गुणस्तरीय बनाउने भन्नेतर्फ अहिले देखि नै तयारी गर्न जरुरी छ’, उनले भने ।

उनले नेपाली कांग्रेसभित्र ‘विधानको शासन’ आवश्यक रहेकोमा पनि जोड दिए ।

‘कोभिड तनाव, प्रवासी नेपाली र वैदेशिक रोजगार’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा डिला संग्रौलाले मध्यपूर्व र मलेसियाका नेपाली श्रमिकहरुले कोभिडका कारण जागिर गुमाएको जनाउंदै श्रम सम्झौता सकिएर घर फर्कनै पर्ने अवस्थाका श्रमिकहरुलाई अन्तर्राष्ट्रिय उडान स्थगित हुंदा ठूलो समस्या व्यहोरिरहेको बताइन् ।

विघटित प्रतिनिधिसभामा छाया श्रममन्त्री पनि रहेकी संग्रौलाले छुट्टीमा आएका श्रमिकहरु पनि सजिलै फर्कन नसक्ने अवस्थाले धेरैले रोजिरोटी गुमाउनु परेको जनाइन् ।

‘पछिल्लो अवस्थामा कोभिडकै कारण घरेलु कामदारहरु कम भएकाले उनीहरुलाई कामको बोझ अझै धेरै थपिएको छ भने करार अवधि सकिएकाहरुलाई पनि नयाँ घरेलु कामदार सप्लाई बन्द भएका कारण घर जानै नदिने अवस्था भएको छ’, उनले भनिन् ।

उनले खाडी मुलुक तथा मलेसियामा कार्यरत नेपालीको समस्याका बारेमा आफूले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, श्रममन्त्री लगायतको पटक पटक ध्यानाकर्षण गरेको तर सरकारले कुनै वास्ता नगरेको गुनासो गरिन् ।

कार्यक्रममा कन्सल्टेन्ट आयुर्वेदिक सर्जन डा. मदन भण्डारीले कोभिडका कारण उत्पन्न तनाव व्यवस्थापनबारे प्रस्तुति दिएका थिए भने नेपाली कांग्रेसको सूचना, संचार तथा प्रचार विभागका केन्द्रिय सदस्य विमल सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा मध्यपूर्वस्थित विभिन्न जनसम्पर्क समितिका पदाधिकारीहरुले कोभिडका कारण नेपाली कामदारमा परेको असरबारे जानकारी दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू