आइतबार, माघ ६, २०८१
14:04 | १९:४९

डेनमार्क र आयरल्याण्डबाट स्वास्थ्य सामग्री प्रदान

रासस जुन १९, २०२१

काठमाडौं । डेनमार्क र आयरल्याण्डले नेपाललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेका छन् । कोभिडको भयानक दोस्रो लहरविरुद्ध लड्न युरोपियन युनियन (ईयू) सदस्य राष्ट्रहरु डेनमार्क र आयरल्याण्डले उसको नागरिक सुरक्षा संयन्त्रमार्फत नेपाललाई सहयोग पुरयाउन उक्त सामग्री उपलब्ध गराएका हुन् ।

डेनमार्कले प्रदान गरेका स्वास्थ्य सामग्रीहरुमा २६ वटा भेन्टिलेटर, ५० वटा नासल अक्सिजन क्यानल्स्, ९६ हजार फेस् शिल्ड्, ९२ हजार गाउन र ९२ हजार एफ्एफ्पीटुमास्क छन् । ती सामग्री असार ३ गते पहिलो चरणमा ल्याइएको थियो भने बाँकी सामग्री आजै नेपाल ल्याइँदैछ ।

यस्तै आयरल्याण्डले पनि ७२ वटा अक्सिजन कन्सन्ट्रेटर, १२ वटा बिपिएपी एयर फ्लो मेसिन, ४४ वटा भेन्टिलेटर, ४०० वटा पल्स् अक्सिमिटर, ५० वटा रेस्पिरेटरी मोनिटर, ५० वटा डिफिब्रिलेटर, १०० वटा थर्मामिटर, ७२८ वटा अक्सिजन रेगुलेटर, ३९८ एयर रेगुलेटर, दुई लाख एक हजार ६०० वटा फेस् शिल्ड् र १० लाख आठ हजार सर्जिकल मास्क उपलब्ध गराएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक समारोहबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई ईयूकी राजदूत नोना डेप्रे र नेपालका लागि डेनमार्कका महावाणिज्यदूत हरि धरेलले हस्तान्तरण गरेका थिए । उक्त सहयोग नेपाल सरकारबाट सहयोगका लागि पछिल्लो पटक आह्वान भएपछि प्रदान गरिएको हो ।

सो अवसरमा मन्त्री तामाङले कोभिड १९ विरुद्ध लड्दै गरेको नेपाललाई एक्यवद्धतास्वरुप आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने ईयूका सदस्य राष्ट्रहरुप्रति नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा ईयूकी राजदूत डेप्रेले सो सहयोग नेपाललाई आवश्यकता भएको तथा आपतका बेला निरन्तर जारी रहेको बताइन् । उनले भनिन्, ‘यो महामारीको सुरुवातदेखि नै ‘टिम युरोप’ नेपालसँगै उभिएको छ र यस किसिमको सहयोग गर्न हामी तयार छौँ । सबैजना सुरक्षित नभएसम्म कोही पनि सुरक्षित हुँदैन ।’

महावाणिज्यदूत धरेलले दुई देशबीच लामो समयदेखि मैत्री सम्बन्ध रहिआएको र नेपालको विकासमा महत्वपूर्ण योगदान गर्दै आएको डेनमार्कले विगतका प्राकृतिक विपद्का समयमा पनि सहयोग गरेको र यसपटक पनि कोभिडविरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराइदिएकामा डेनमार्क सरकारप्रति आभार व्यक्त गरे ।

यसअघि स्पेन, फिनल्याण्ड, फ्रान्स, बेल्जियम र जर्मनी, स्लोभेनिया, अष्ट्रिया र माल्टा पनि नेपाललाई विभिन्न चिकित्सा सामग्री सहयोग गरिसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू