आइतबार, माघ ६, २०८१
14:26 | २०:११

कांग्रेस महाधिवेशन भदौ १६ –१९ काठमाडौँमा

रासस जुन १८, २०२१

नेपाली काँग्रेस पार्टी केन्द्रिय कार्यालय ललितपुरको सानेपामा शुक्रबार बसेको केन्द्रिय कार्यसमितिको बैठक । तस्वीर- रोशन सापकोटा, रासस

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । कांग्रेसको आज शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको महाधिवेशनको संशोधित कार्यतालिकालगायत विभिन्न प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

संशोधित कार्यतालिकानुसार गाउँ-नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ-नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।

त्यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

त्यस्तै क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि असार २० भित्र र क्रियाशील सदस्यताका सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि असार ३० गतेभित्र तोकिएको छ ।

राजनीतिक सहमतिलाई प्रभावकारी बनाइने

बैठकले कांग्रेस सभापति एवं प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाका नेतृत्वमा सरकार गठन गर्न समर्थन गर्ने सबै राजनीतिक दल, राजनीतिक दलका नेता र प्रतिनिधिसभाका सदस्यबीचको राजनीतिक सहमतिलाई थप सुदृढ र प्रभावकारी बनाउने निर्णय गरेको छ । साथै संविधान र लोकतन्त्रको रक्षार्थ राजनीतिक दलबीच समान धारणाका साथ अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।

राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन गर्नका लागि दाबी गर्न आह्वान गरेअनुसार राजनीतिक दल र दलका नेताहरुको सहमतिबमोजिम कांग्रेसका सभापति देउवाले बहुमत सदस्यका समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेको बैठकपछि जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

‘राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधिसभा सदस्य देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेको विषय संविधानको धारा ७६ (५) विपरीत भएको कुरामा यो बैठक स्पष्ट छ । राष्ट्रपति र माननीय प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक निर्णयका विरुद्ध हामी संवैधानिक उपचारका लागि सर्वोच्च अदालतमा गएका छाँैं’- विज्ञप्तिमा उल्लेख छ ।

संविधानको व्यवस्थाबमोजिम १३६ प्रतिनिधिसभा सदस्यको समर्थन प्रधानमन्त्री नियुक्त गर्न पर्याप्त हुने अवस्था रहेको र सांसद देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने दाबीमा प्रतिनिधिसभाका बहुमत सदस्य १४९ जनाको हस्ताक्षरसमेत रहेको कांग्रेसले स्पष्ट पारेको छ ।

सभापति देउवाको सभापतित्वमा सम्पन्न बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल तथा केन्द्रीय सदस्य बलबहादुर केसी, मानबहादुर विश्वकर्मा, एनपी साउद, डा. चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, मीनबहादुर विश्वकर्मा, बद्री पाण्डे, सीता गुरुङ, सुजाता परियार, देवेन्द्रराज कँडेल, बीरबहादुर बलायर, बाबुराम बस्नेत तथा आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, शम्भुलाल श्रेष्ठ र दयाराम पाण्डेले आ-आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू