एमाले नेता खनाललाई उपचारका लागि भारत लगियो
काठमाडौँ– नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिएको छ । नर्भिक इन्टरनेशलन अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज नेपाल वायुसेवा निगमको जहाजबाट थप उपचारका लागि अपराह्न साढे १२ बजे नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो ।
उनका स्वकीय सचिव कृष्ण भट्टराईले दिल्ली पुग्नेबित्तिकै भर्ना भई उपचार शुरु गरिने बताए ।
यसैबीच, एमाले महासचिव इश्वर पोखरेलले नेता खनालको स्वास्थ्यलाभको कामना गरेका छन् । नर्भिक अस्पतालमा पुगी उनले स्वास्थ्यलाभको कामना गर्दै नेता खनाललाई छिट्टै निको भएर आउन शुभकामना दिए । सोही अवसरमा नेता खनालले महासचिव पोखरेललाई ‘तपाईँले पार्टी मिलाउनुहोस् कमरेड’ भनी आग्रह गरेका थिए ।
स्वास्थ्यावस्था स्थिर
नर्भिक अस्पतालमा रहँदा उनको स्वास्थ्यावस्था स्थिर रहेको अस्पतालले जनाएको छ । ज्वरोसंँगै थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि खनाललाई यही जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो ।
नेता खनालको फोक्सोमा पानी जमेको र सोही कारणले अक्सिजनको कमी देखिएको थियो । नर्भिकमा उनको उपचारमा संलग्न छातीरोग विशेषज्ञ डा ब्रजेन्द्र श्रीवास्तवले ज्वरो उल्लेख्य घट्न नसकेको र पिसाब तथा रगतमा इन्फेक्सन देखिएको बताए ।
हेमोग्लोबिनको मात्रामा कमी देखिएपछि उनलाई मंगलबार एक पिन्ट रगत चढाइएको थियो । अस्पतालको दुई पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले नथामेपछि एक पिन्ट मात्र चढाइएको नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए ।
कोभिड–१९ हुँदा उनलाई निमोनियाको समस्या देखिएको थियो । छातीरोग विशेषज्ञ डा श्रीवास्तवले नेता खनाललाई मिर्गौलाका समस्याबाट हुने लक्षण र कोभिड–१९ पछि देखिने लक्षण देखिएको बताए । केही समयअघि नेता खनाललाई कोभिड–१९ को संक्रमण पनि भएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५