मंगलबार, माघ १, २०८१
12:53 | १८:३८

बेलायतमा संक्रमण बढ्दो क्रममा, मृत्युदर भने न्यून  

२४ घन्टामा ६ हजार ४८ जना संक्रमित

नेपाली लिङ्क जुन ८, २०२१

फोटो टाइम म्यागेजिन

लन्डन । पछिल्लो समय बेलायतमा कोरोना संक्रमण दर निरन्तर वृद्धि हुँदै गइरहेको छ । कोरोनाविरुद्धको खोपलाई तीव्रता दिएसंगै बेलायतमा संक्रमण र मृत्यु दरमा उल्लेखनीय परिवर्तन आएको थियो ।

केहि स्थानमा ‘इन्डियन भेरिएन्ट’ को संक्रमण देखिएपछि पछिल्ला दिनमा संक्रमण दरमा वृद्धि हुँदै गएको हो । दैनिक संक्रमणदर दुई हजार भन्दा तल झरेको भएपनि हाल संक्रमित संख्या ६ हजार भन्दा बढी हुन थालेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ४८ जना नयाँ संक्रमित थपिएका छन् ।

यससंगै बेलायतमा कुल संक्रमितको संख्या ४५ लाख २८ हजार ४४२ पुगेको छ । अघिला केहि दिनमा संक्रमित संख्या ६ हजार भन्दा कम थियो ।

बेलायतमा कोरोना संक्रमण दर बढ्दै गएपनि मृत्युदरमा भने खासै वृद्धि भएको छैन् । बितेको २४ घन्टामा १३ संक्रमितको ज्यान गएको छ । अघिल्लो दिन एकजनाको मात्र मृत्यु भएको थियो ।  बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ८५४ पुगेको छ ।

बेलायतमा ५३ प्रतिशतले लगाए खोपको दुवै डोज

बेलायतमा कोरोनाविरूद्धको खोप अभियान शुरु भएयता ५३.६ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् ।  यसैगरी ७७ प्रतिशतले पहिलो डोज लगाएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्यांकमा उल्लेख छ ।

पछिल्लो तथ्यांक अनुसार बेलायतमा हालसम्म  छ करोड ८८  लाख ८७९ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ५ लाख ७३ हजार ५१७ जनाले पहिलो र दुई करोड ८२ लाख २७ हजार ३६२ जनाले दोस्रो डोज लगाएका हुन् ।

इंग्ल्याण्डमा २५ देखि ३० वर्ष उमेर पुगेकालाई कोरोनाविरुद्ध खोपका लागि निमन्त्रणा गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू