युवा व्यवसायी विष्णु खरेल एनआरएनए यूके उपाध्यक्षमा लड्दै
लन्डन । बेलायतका एकजना युवा व्यवसायी, अध्यागमन कानूनी सल्लाहकार एवं उदयीमान मोडल विष्णु खरेलले एनआरएनए यूके उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
एनआरएनए यूके निर्वाचन जुलाइ अन्तिम साता हुने तय छ ।
खरेलले आफ्नो जीत भए नेतृत्वले अघि सारेका राम्रा योजना कार्यन्वयनमा सहयोग र समर्थन गर्दै बेलायतस्थित गैर आवासीय नेपालीहरुको अपनत्व हुने एनआरएनए बनाउन सक्दो प्रयास गर्ने प्रतिवद्धता रहेको बताए ।
बेलायत र नेपालमा समस्यामा परेका नेपालीलाई संस्थागत रुपमा सहयोगको पहल गर्ने, एनआरएनए यूकेलाई युवामैत्री, पारदर्शी र ग्रासरुटसम्म लैजाने, बेलायतमा स्टार्ट अप व्यवसाय गर्न चाहने नेपाली उद्यमीलाई साना तथा मझौला खालका व्यवसायतर्फ प्रेरित गर्दै आफ्नो ज्ञान र अनुभव बांड्ने, बेलायतका नेपालीको अध्यागमन समस्या समाधान तथा परामर्शका लागि नियमित कार्यक्रम गर्ने आदि एजेण्डा पनि उनका छन् ।
‘म समाजसेवामा विगतदेखि नै लागेको मान्छे हुं । मेरो एनआरएनए यूकेमा ‘भाइटल पोजिसिन’ त्यसैका लागि सहज होस् भन्ने उद्देश्यले हो’, खरेलले भने ।
बेलायतको ग्रेसटस्थित बेलिफ रेष्टुरेन्टका सञ्चालक खरेलले नियमित च्यारिटी कार्यक्रम गरि बेलायत र नेपालमा आर्थिक सहयोग गर्दै आएका छन् । उनले विभिन्न कालखण्डमा हालसम्म झण्डै ५० लाख रुपैयां सहयोग गरिसकेका छन् ।
एनआरएनए यूके, क्याट यूके लगायतका संघसंस्थामा सल्लाहकार रहेका खरेल सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् ।
कोभिड महामारीपछि बेलायतमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र ‘फ्रण्टलाइन वर्कर’ हरुलाई उनले बेला बेला निशुल्क लन्च समेत ख्वाएका थिए ।
बेलिफ रेष्टुरेन्टले बेला बेला समुदायका लागि सेवा गर्दै आएको छ । गत फेब्रुअरी तेश्रो साता खरेलले रेष्टुरेन्टमा च्यारिटी गरेर नेपालका असहाय बालबालिकाका लागि सहयोग जुटाएका खरेलले दुई साताअघि पनि च्यारिटी गरेर कोभिड १९ पीडितका लागि नेपाल सहयोग पठाएका थिए ।