मंगलबार, माघ १, २०८१
12:38 | १८:२३

यो कस्तो ट्वाइलेट प्रेम

उमेश रेग्मी जुन ५, २०२१

उमेश रेग्मी

ट्वाइलेटमा बसेर ट्वाइलेट कै कथा लेख्दा विचित्रको अनुभव गरिरहेछु मैले । कतिपयलाई मन पर्दैन टवाइलेट । तर, मेरो लागि भने बडो आनन्दको ठाउँ हो यो । शरीर हल्का बनाउंदै गर्दा दिमागका तरङ्गहरुमा उर्लने कुराहरु समेटेर राख्न सकेको भए आज म पनि ठूलो कथाकार बनि सक्ने थिएं ।

तर के गर्नु, ट्वाइलेटका कुरा अक्सर ट्वाइलेटभित्रमात्र सिमित रहन्छन् । त्यसैले आज त कागज र कलम बोकेरै छिरेको । त्यो बेलाको उपलब्धि यही कथाबाट बताउन पाउँदा ट्वाइलेटलाई धन्यवाद नदिइ रहन सकिन । खुशी कति लागेको छ कसरी बयान गरु खै !

कथाको शुरुवात छिमेकी पुन्टेको अनुभवबाट गर्न मन लाग्यो मलाई । उ संधै सुनाउँछ मैदान बस्दा आकासमा उड्न तस्तरी जस्तै केहि देखेको अनि उसको मैदान बसाई छोट्टिएको । मैदानबाट धोती बटुल्दै भाग्न परेको उसको व्यथा मैले यतिखेर ट्वाइलेटमा सम्झिन पुग्दा मैदान र ट्वाइलेटको गहिरो आपसी सम्बन्ध भएको प्रष्ट हुन्छ । मेरो यस्तो तर्कमा बाले प्रतिक्रिया दिनुहुन्छ आफ्नै पाराले । उहाँ भन्नुहुन्छ, ‘तिमीहरुको कुरा म चर्पी जाँदा सोच्ने गर्छु । तर, खै कुनै निचोडमा पुग्न सक्दिन ।’

उहाँले मैदान र ट्वाइलेटको सम्मिश्रणमा चर्पी पनि मिसाई दिनुहुन्छ, जानेर होस् वा नजानेरै । ट्वाइलेट, मैदान र चर्पीले बनाएको त्रिकोणात्मक सम्बन्धमा अल्मलिन पुग्दा कतै मेरो कथाले लिनु पर्ने रुप लथालिङ्ग हुने हो कि भन्ने डरले केहि बेर टवाइलेटभित्रै दिमाग हल्लिएको कुरा खै कसरी अनि कसलाई सुनाउं । हल्लिएको दिमागलाई थामथुम पार्न फेरी ट्वाइलेट नै जानु परेको बाध्यता मेरो, अचम्म लाग्छ आफैंलाई।

अमेरिका पुगेर ‘ज्याकी’ बनेको जनक पनि आफ्नो दिमागी उलझन सुल्झ्याउन रेष्ट रुम जाने गरेको जिकिर गर्छन् । उसको कुरा सुन्दा मलाई पुरानो साथी रेशमको संधै याद आउँछ । कवि बन्ने सुरमा देवकोटा झैँ ट्वाइलेट छिरेर चुरोट फुक्ने कला अपनाएका मेरो साथी बेला न कुबेला ट्वाइलेट गएर हैरान पार्छन् । उनको यो ट्वाइलेट प्रेम उनकी श्रीमतीलाई टाउको दुखाइ भएको उनकै मुखबाट सुनिन्छ। उनी व्यंग गर्छिन् आफ्नो बुढालाई, ‘कवि बन्न दिमाग चाहिन्छ, ट्वाइलेट होइन !’

प्रत्युतरमा मेरो साथी प्राय भन्ने गर्छ, ‘शरीर हल्का गर्दा दिमाग पनि हल्का हुने कुरा तिमीहरुलाई के थाहा । ट्वाइलेट बस्दाको मोह म जस्ता ज्ञानीले मात्र बुझ्छन् । देवकोटा जस्ता कवि पनि ट्वाइलेटमा नै आफ्नो कृतिहरु फुर्ने गरेको कुरा गर्थे, बुझ्यौ ।’

सुझबुझका कुरा, धारा प्रवाह कविता फुर्ने कला, कथाका घटना कालका चित्रण सबै ट्वाइलेटमा नै हुने अचम्मको अनुभवले प्राय सबैलाई जिस्क्याएको कुरा मेरा साहित्यकार मित्र पनि भन्ने गर्छन् । उनको कुरासंग मेरो सहमति नहुने प्रश्नै उठदैन् । बाको चर्पीमा हुने चिन्तन, पुन्टेको मैदान जाँदाको खोज, ज्याकीको रेष्ट रुमको दिमागी कसरत देखि रेशमको ट्वाइलेटमा कवि बन्ने रहर सबै उदाहरण छन् मेरो मित्रको भनाइलाई बलियो बनाउन । त्यसमा थप सहयोग मेरो श्रीमतीको सोखले गर्छ । उनीलाई गायिका बन्ने रहर पनि ट्वाइलेट जाँदा नै हुन्छ ।

गजब छ ट्वाइलेटको जादु । उनको गायिका बन्ने रहरले कहिलेकाहीं घन्टौसम्म ट्वाइलेट बन्द हुँदा खप्नु परेको पीडा वर्णन लायकै होला तर त्यो भन्दा पनि महत्वपूर्ण चाहिं त्यस बेला तुहिन सक्ने अलौकिक विचारहरु हुन् जुन टवाइलेट नछिरि प्रस्फुटित हुने नामै लिंदैनन् । कहिले काहीं त मलाई ट्वाइलेट एक ट्वाइलेट नभएर प्रतिभाको डबली हो कि जस्तो लाग्छ । कस्ता कस्ता प्रतिभाहरु भेटिन्छन् त्यहाँ । त्यही डबलीमा जन्मेको मेरो यो प्रतिभाले आज आफैंलाई चकित तुल्याइरहेको छ । धन्य हो टवाइलेट !

त्यसैले मलाई त्यो सानो कोठामा ठूला विचारहरुसंग मग्न हुन बारम्बार मन लाग्छ र बारम्बार नयाँ खोजको बहानामा ट्वाइलेट भित्र हराउन मन लाग्छ । पाठकलाई लागिरहेको होला यो कस्तो हरिलट्ठक कुरा गरेको भनेर । तर, पत्याउनुस् तपाईं पनि ट्वाइलेटमा आफ्नो विचारसंग सिङ्गेजोरी खेल्न थाल्नु भयो भने तपाईंको पनि मेरो जस्तै हालत हुनेछ ।

तपाईंलाई पनि ट्वाइलेटमा नै समय बिताउन मन लाग्छ। तपाईंको मनले संधै मैदान र चर्पीहरुकै कुरा खेलाउँछन् अनि दिमागले रेष्ट रुम खोज्दै नयाँ प्रस्फुटनको संकेत दिन्छ । केहि समयमा नै तपाईं पनि एउटा श्रष्टा भनेर चिनिन थाल्नु हुन्छ । त्यसपछि त के भनुं अब, तपाईं र ट्वाइलेट एक अर्काको पर्यायवाची हुन पुग्छन् तपाईंको आफ्नै घरमा ।

हाल- लन्डन

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू