शुक्रबार, मंसिर १४, २०८१
01:42 | ०७:२७

कोभिड–१९ भाइरस पत्ता लाग्नुअघि वुहान प्रयोगशालामा संक्रमण थिएन: चीन

रासस/सिन्ह्वा जुन ५, २०२१


वुहान, २२ जेठ– चीनको हुबेइ प्रान्तको वुहानस्थित प्रयोगशालाका कुनै पनि कर्मचारी वा अनुसन्धानकर्ता कोरोना भाइरसबाट संक्रमित नरहेको चीनले फेरि एक पटक दोहोरयाएको छ ।

अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर चीनमा कोरोना भाइरस संक्रमण पुष्टि हुनुभन्दा केही हप्ता पहिले वुहानस्थित प्रयोगशालाका तीनजनामा मिल्दोजुल्दो लक्षण देखिएको भन्ने दावीको खण्डन गर्दै चीनको यो भनाइ आएको हो ।

अमेरिकी गुप्तचरको रिपोर्टपछि कोरोना भाइरसको उत्पतिलाई लिएर अमेरिका र चीनका परस्पर भिन्न भनाइ आउने गरेका छन् ।प्रयोगशालामा भएको व्यवस्थापकीय असावधानीका कारण चुहावट हुँदै भाइरस मानिसमा सरेको हुनसक्ने आशंका अमेरिकी अधिकारीहरूले गर्दै आएका छन् । यसै विषयलाई लिएर राष्ट्रपति जो बाइडेनले अघिल्लो हप्ता विस्तृत अध्ययन गरी ९० दिन भित्र प्रतिवेदन बुझाउन गुप्तचर निकायलाई आदेश दिएका थिए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संयोजनमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताले गरेको अध्ययनमा कोरोना भाइरस प्रयोगशालाबाट चुहावट भएर मानिसमा सरेको हुन सक्ने सम्भावना अति दुर्लभ रहेको तर थप अध्ययन भने गर्नुपर्ने बताएको थियो ।

पछिल्लो पटक अमेरिकी गुप्तचर निकायको सूचनापछि वुहानको समुद्री खाद्यान्न बजारबाट नभई प्रयोगशालाबाट भाइरस फैलिएको हुन सक्ने आशंकामा बल पुगेको हो । यसलाई नै मध्यनजर गरेर अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले चीनसँग वुहानस्थित प्रयोगशालाका तीन अनुशन्धानकर्तासहित कुल ९ जना चिनियाँ नागरिकको स्वास्थ्यसम्बन्धी विवरण जारी गर्न माग गरेका छन् ।

शुक्रबार चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले वुहान इन्स्टिच्यूड अफ भाइरोलोजीमा सन् २०१९, डिसेम्बर ३० भन्दा पहिले कोरोना भाइरसको कुनै जानकारी नरहेको पुनः दाबी गरेका छन् ।

उनले अहिलेसम्म सो प्रयोगशालाका एक कर्मचारी वा विद्यार्थीमा कोरोना भाइरस संक्रमण नदेखिएको दावी गरे । स्वास्थ्य विवरणहरु प्रयोगशालाका कर्मचारी र शोधकर्ताहरुमा मात्रै सीमित गरिने भएकाले सार्वजनिक गर्न नसकिने उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू