भारतमा कोरोनाबाट एकैदिन तीन हजार बढीको मृत्यु
नयाँ दिल्ली, १९ जेठ– भारतमा कोरोनाभाइरस महामारी (कोभिड–१९) बाट संक्रमितमध्ये विगत २४ घण्टामा थप तीन हजार २०७ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड–१९ संक्रमितमध्ये कूल तीन लाख ३५ हजार १०२ जनाको ज्यान गइसकेको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा एक लाख ३२ हजार ७८८ जना नयाँ संक्रमित थपिएका छन् । यो सहित भारतमा बुधबारसम्म कूल संक्रमितको संख्या दुई करोड ८३ लाख नाघेको छ । तर संक्रमितमध्ये दुई करोड ६१ लाख ७९ हजार निको भएका छन् । अझै १७ लाख ९३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामै रहेका छन् । तर यो संख्या विगत २४ घण्टामा एक लाखले कमी आएको हो ।
मन्त्रालयका अनुसार भारतमा पछिल्ला केही दिनदेखि संक्रमितको संख्यामा निकै कमी आएको छ । भारतमा गत जनवरी १६ देखि राष्ट्रव्यापी खोप अभियान थालनी गरिएको थियो । हालसम्म देशभर करिब २१ करोड ८० लाख डोज खोप लगाइएको छ । तर, भारतका कैयौं स्थानमा खोपको अभाव देखिएको तथा खोप केन्द्रहरुमा मानिसहरुको ठूलो भिड लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतले हाल १८ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप दिने नीति लिएको छ । मन्त्रालयका अनुसार, मङ्गलबार एकै दिन भारतमा २३ लाख ९७ हजार डोज खोप दिइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५