बेलायतमा पहिलोपल्ट कोरोना मृतक शून्यमा झर्यो
लन्डन । बेलायतमा पहिलो पल्ट कोरोना संक्रमणका कारण हुने मृतक संख्या शून्यमा झरेको छ । कोरोना महामारीयता पहिलोपल्ट मृतक संख्या शून्यमा झरेको हो ।
पछिल्लो समय कोरोना संक्रमण दरमा सामान्य वृद्धि हुँदै गैरहेको छ भने मृतक संख्या भने लगातार कमी देखिएको छ । बेलायतका केहि स्थानमा ‘इन्डियन भेरिएन्ट’ को संक्रमण देखिएपछि पछिल्ला दिनमा संक्रमण दर सामान्य वृद्धि हुँदै गइरहेको छ ।
पछिल्लो २४ घन्टामा थप तीन हजार १६५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यससंगै कोरोना संक्रमितको कुल संख्या ४४ लाख ९० हजार ४३८ पुगेको छ ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण हुने मृतक संख्या शून्य छ ।
बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ७८२ पुगेको छ । बेलायतमा महामारीको दोस्रो लहर शुरु भएपछि जारी लकडाउन पूर्ण रुपमा खुलिसकेको छैन ।
यहि जुन २१ तारिखबाट लकडाउनसम्बन्धि सम्पूर्ण कानूनी बन्देजहरु फुकुवा गर्ने सरकारको घोषणा भएपनि केहि दिनयता संक्रमण दर बढ्दै गएपछि लकडाउन खोल्ने निर्णय तत्कालका लागि पर सार्नुपर्ने विज्ञहरुले चेतावनी दिंदै आएका छन् ।
बेलायतमा पुन: कोरोना महामारीको तेस्रो लहर आउन सक्ने युनिभर्सिटी अफ क्याम्ब्रिजका प्राध्यापक रवि गुप्ताले बताएका छन् ।
बेलायतमा हालसम्म ६ करोड ५२ लाख ११ हजार ८७७ डोज वितरण भइसकेको छ । जसमध्ये तीन करोड ९४ लाख ७७ हजार १५८ जनाले पहिलो र दुई करोड ५७ लाख ३४ हजार ७१९ जनाले खोपको दोस्रो डोज लगाएका छन् ।