मंगलबार, माघ १, २०८१
12:53 | १८:३८

किरात राई यायोक्खा बेलायतले मनायो ऐतिहासिक साकेला पर्व

नेपाली लिङ्क जुन १, २०२१

लन्डन । बेलायतमा बसोबास गर्ने किरात समुदायको साझा प्रतिनिधिमूलक संस्था किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिले गत मे २९ का दिन ऐतिहासिक चाड साकेला उभौली मनाएको छ । किरात राई जातिको विशिष्टतालाई प्रतिविम्वित गर्ने गरी समग्र किरात राई समुदायको साझा पूर्वज, सम्पूर्ण भाषिक थरीहरु तथा तिनका पुर्खालाई सम्मान र सम्झना गर्दै ऐतिहासिक साकेला उभौली मनाइएको हो ।

किरात राई यायोक्खा बेलायतले बैशाखे पूर्णिमा तथा बुद्ध जयन्ती पछिको पहिलो शनिबार साकेला उभौली मनाउँदै आएको छ । किरात राई समुदायले भूमिचक्र (ऋतु) अनुसार वैशाखे पूर्णिमामा साकेला उभौली र मंसिरे पूर्णिमामा साकेला उधौली गरी वर्षमा दुईपटक साकेलालाई महान चाडको रुपमा मनाउँदै आएका छन् । यस चाडलाई बहुभाषिक (बहुथरी) किरात राईहरुले विविध नाम जस्तै चासूवा, तोष, भूमे, तोषी, वास, साक्खेवा, साकेवा, साकेन्वा, साकेला आदिबाट चिन्ने गर्छन् ।

साक्खेवा-साकेलालाई किरात राई समुदायले सर्वशक्तिमान आराध्यदेवताको रुपमा मान्यता दिंदै आएको पाइन्छ । साकेला उभौलीमा अन्नबालीको बिउबिजन छर्दा स्वस्थ्य बेर्ना तयार होस्, जसबाट उत्पादनमा वृद्धि होस् साथै मानव जातिको रक्षार्थ पनि साकेला साकेन्वासित बल माग्न यसको पूजा गर्ने गरिन्छ । साकेला उधौलीमा लगाएको अन्नबाली उठाइसकेपछि अन्नबाली र प्राणी जगतलाई रक्षा गर्दै त्यस अवस्थासम्म ल्याई पुरयाउन सक्ने साकेला (शक्ति) को सम्मानमा पूजा गरिने प्रचलन यो जातिमा पाइन्छ ।

साकेलाको पूजा र सिली प्रदर्शनी शुरुदेखि अन्त्यसम्मको अवधिलाई किरात राई जातिले महान चाडको रुपमा मनाउँदै आएका छन् । साकेला पुज्ने अघिल्लो दिन भूमि (जमिन) लाई खनजोत नगर्ने परम्परा पनि यस समुदायमा छ । एउटा जातिय पहिचान भएको किरात राई जाति (समुदाय) एउटै भाषा बोल्दैनन् । एउटा जातिय पहिचान र भाषिक विविधता नै यस जातिको विशिष्टता हो । यो समुदायमा अहिले पनि २८ भाषा (थरीहरु) जीवित (बोलचाल) तथा प्रयोगमा छन् ।

एउटै अथवा साझा पुर्खा साथै साँस्कृतिक सामिप्यता यो जातिको अर्को विशिष्टता छ । आफैंमा विविधतायुक्त, आफैंमा इन्द्रेणी समाजयुक्त किरात राई समुदाय भित्रका यिनै २८ भाषिक-थरीहरुको सम्मान र साझा पूर्खाहरुको सम्झना गर्दै यस वर्षको साकेला उभौली आयोजना स्थल (पूजा थान) सम्पूर्ण २८ भाषिक-थरीहरुको नाम अंकित प्ले–कार्डद्वारा सजाइएको थियो ।

बेलायतबासी किरात राई जातिको प्रतिनिधिमूलक संस्था किराया बेलायत भाषिक (थरी) संघात्मक संगठनात्मक संरचनामा रुपान्तरित हुने कार्यसमितिको निर्णयसहित संकल्प गरेपश्चात त्यसलाई ब्यवहारिक प्रयोगमा ल्याउने सुरुवाती कदम स्वरुप यस ऐतिहासिक कार्य, साकेला उभौलीका संयोजक उपाध्यक्ष मेजर दिलकुमार राई, उपाध्यक्ष क्याप्टेन सुमनचन्द्र राई, पूर्व महासचिव तथा उपाध्यक्ष जीतेन्द्र साम्पाङ राई, उपाध्यक्ष नीलम राई साथै संस्थाका कार्यवाहक अध्यक्ष चन्द्रबहादुर राईको संयुक्त परिकल्पना थियो ।

यसलाई अभियानकै रुपमा किरात राई इन्द्रेणी समाज (बहुभाषिक तथा मौलिक रुपमै संघात्मक समुदाय) को सबै भाषिक-थरीले उत्तिकै सम्मान, अपनत्व र स्वामित्व महशुस गर्ने गरी संकल्प प्रस्तावको भावना र मर्म अनुरुप आगामी दिनहरुमा अझ ब्यापक, रचनात्मक, विशेष र संस्थागत गर्दै लगिने प्रतिवद्धता संस्थाका कार्यवाहक अध्यक्ष चन्द्रबहादुर राईले आफ्नो शुभकामना मन्तब्यमा ब्यक्त गरेका थिए ।

किरात राई जातिको धर्म, प्रकृति र पितृ पूज्ने मौलिक किरात धर्मको विशिष्ट स्थानमा नाक्छुङको भूमिका सर्वोपरी हुन्छ । सोहीअनुरुप किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिको विशिष्ट ब्यक्तित्व नाक्छुङ कितावसेर राईबाट विधिवत साकेला उभौली पूजा गरी साकेला सिली सुरुवात गर्ने र अन्तमा विधिपूर्वक साकेला सिली मार्ने (समापन) कार्य सम्पन्न भएको थियो ।

विधि पूर्वकको उक्त साकेला उभौली पूजा-शुभ कार्यमा नाक्छुङलाई साथ दिनेमा किरात राई चाम्लिङ खाम्बातिम नेपालका संस्थापक अध्यक्ष समेत रहिसकेका पुर्खा जगतबहादुर राई थिए भने सिली माङ्मा संस्थाका सचिव अनिता राई र सिली माङ्पा राम
राई रहेका थिए । त्यसैगरी विधि पूर्वको उक्त साकेला उभौली पूजा तथा सिलीमा लक्ष्मी राई, शारदा राई र युद्धराज राईको पनि संलग्नता थियो ।

महामारी पूर्वको सामान्य अवस्थामा पाँच हजारभन्दा ज्यादा बेलायतबासी किरात राई तथा गैर किरात राईहरुको उत्साहजनक सहभागिता हुँदै आएको साकेला उभौलीमा यसवर्ष महामारी कोभिड–१९ सम्बन्धि सरकारी निर्देशन, जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी प्रतिवन्धका कारण सीमित ब्यक्ति मात्र उपस्थित भई मनाउनु परेको कार्यक्रम संयोजक तथा उपाध्यक्ष मेजर दिलकुमार राईले जानकारी गराएका थिए ।

साकेला उभौलीकै अवसरमा आयोजित शुभकामना आदानप्रदानको छोटो औपचारिक कार्यक्रमको प्रमुख अतिथि ८२ वर्षीय पूर्खा लवजित राई थिए ।

शुभकामना आदानप्रदानका क्रममा गैरआवासीय नेपाली संघ बेलायतकी वर्तमान उपाध्यक्ष तथा आसन्न निर्वाचन २०२१ को अध्यक्ष प्रत्यासी रोजिना (प्रधान) राईले सबैलाई साकेला उभौलीको शुभकामना ब्यक्त गर्दै गैर आवासीय नेपाली संघ बेलायतको खास एजेण्डा नेपाली नागरिकताको निरन्तरता र गोर्खाहरुको समान सेवा सुविधाको माग रहेको जनाइन् । उनले आफ्नो दावीको कारण खुलाउँदै समग्र किरात राई तथा गैर किरात राई ब्यक्ति तथा समुदायले पहिले झैं सहयोग गर्ने विश्वास ब्यक्त गर्दै पुनः सहयोगका लागि आव्हान गरेकी थिइन् ।

चियापान तथा शुभकामना आदानप्रदानकै क्रममा संस्थाका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार पदम राई ‘बीइएम’ ले संस्था भित्रको वर्तमान मतभिन्नतालाई इंगित गर्दै समुदायलाई भावनात्मक रुपले जोड्न नसकेकोमा दुःख ब्यक्त गरे । किरात राई जाति तथा समुदायको साझा प्रतिनिधिमूलक संस्थाले लिनुपर्ने सही मार्ग अहिले संस्थाले आत्मसात गरेको, संकल्प गरेको, संगठनात्मक संरचनालाई भाषिक संघात्मक संरचनामा रुपान्तरण गर्नु नै रहेको धारणा ब्यक्त गर्दै यही विचारले मात्र समग्र किरात राईलाई जोड्ने विश्वास ब्यक्त गर्दै रुपान्तरणका लागि सही समय समेत आएको उल्लेख गरे ।

यसै क्रममा सामाजिक अभियन्ता डा. महा राईले विशिष्टतायुक्त किरात राई समुदायमा सामाजिक अन्तरद्वन्द्व सिर्जना हुनुमा समुदायको प्रतिनिधिमूलक संस्थाको संगठनात्मक संरचना र त्यसले दिने निर्णय-परिणामहरु नै द्वन्द्वको प्रमुख कारण रहेको बताए । गहिरो मतभिन्नतासहित सामाजिक द्वन्द्व चलिरहँदा समुदायले कुनै प्रकारको सामूहिक-सामाजिक उपलब्धि हासिल गर्न नसक्ने भएकोले किरात राई समुदायले यसलाई छिट्टै बुझ्ने विश्वास ब्यक्त गरे ।

उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायतकी अध्यक्ष प्रमिला लाबुङ राई, किरात राई साँस्कृतिक कलाकार संघ यूकेका उपाध्यक्ष विनोद पुमा राई, किरात राई तायामा खियामा महिला समिति यूकेकी अध्यक्ष रोजी राई, किरात राई यायोक्खा बेलायत प्रारम्भिक कार्यसमिति ग्रेटर रसमोरका अध्यक्ष ध्रुवसरी राई, बेलायतका चर्चित गायक तथा संगीतकार गंगाराज राई, गैरआवासीय नेपाली संघ बेलायतका पूर्व उपाध्यक्ष हिराधन राई लगायत कार्यसमिति पदाधिकारी सदस्यहरुको उपस्थिति थियो । कार्यक्रम सञ्चालन महासचिव चन्द्रवती राईले गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू