किरात राई यायोक्खा बेलायतको साकेला उभौली
लण्डन । किरात राई यायोक्खा बेलायतले साकेला उभौली २०७८ (यलेदुङ ५०८१) को शुभारम्भ पहिलो पल्ट पित्री (चुला) पूजाबाट गरेको छ । अध्यक्ष कल्पना राईले चुला घरको उद्घाटन गरेकी थिइन् । सो अवसरमा नाक्छोङ /नाक्छो साथै पुर्खाहरुको उपस्थिति थियो।
उक्त अवसरमा किरात राई यायोक्खा बेलायतको नयाँ बर्ष २०७८ क्यालेन्डर लोकार्पण गरी सबै प्रारम्भिक कार्यसमितिहरुलाई बितरण समेत गरिएको थियो ।
किराँतको पवित्र ग्रन्थ मुन्धुमअनुसार एक वर्षलाई दुई भागमा विभाजन गरी उभौली एवं अधौली मान्ने चलन रहँदै आएको छ । हिउँदको चिसो सुरुवातसँगै मंसिर महिनाबाट सबै थलचर (पशु, पंक्षीहरु) र जल चर (माछा, पाहाहरु) गर्मी ठाउँतिर सर्छन्, जुन चरणलाई उधौली भनिन्छ ।
त्यस्तै गर्मी महिना सुरु भएपछि सबै थलचर र जल्चर प्राणीहरु तराई फेदीबाट हिमाल पहाडतिर सर्छन्, जुन वैशाख महिनाबाट सुरु हुन्छ, जसलाई आधार मान्दै उभौली सुरु भएको मानिन्छ ।
किराँतहरू प्रकृतिका पुजारी हुन्, जसअनुसार अन्नबालीहरू राम्ररी प्रदान गरिएको प्राकृतिक विनाशबाट बचाइएको धन्यवादस्वरूप प्रकृति मातालाई पूजा गर्ने गरिन्छ, यसलाई भूमि पूजा पनि भनिन्छ र साकेला उधौलीको रूपमा मंसिर पूणिर्मा मनाइन्छ ।
त्यस्तै अन्नबालीहरू लगाउने सुरुवातको समयमा राम्ररी फुलोस् फलोश, प्रकृतिक विनाशबाट, किरा फटेङ्ग्राबाट, असिना पानीबाट बचाएर लगाएका अन्नबाली राम्ररी भित्र्याउन पाउँ भनी प्रकृतिको पूजा गर्दै साकेला उभौली पर्व मनाइन्छ जुन वैशाख वा जेठ महिनामा पर्दछ ।
साकेलासम्बन्धी विभिन्न कथा तथा किंवदन्ती छन् । सुम्निमा र पारुहाङ विवाह गर्नुअघि पारुहाङ स्वर्गमा बस्थे, एक दिन पारुहाङले सुन्दरी सुम्निमालाई धर्तीमा देखे र उनीप्रति आकषिर्त भएर उनले सुन्दर काइँयो बनाएर सुम्निमालाई आकषिर्त गर्नको लागि धर्तीमा पठाए, त्यसको परिणाम उनीहरूको विवाह भएको पाइन्छ ।
सुम्निमा र पारुहाङको विवाहपश्चात् चार सन्तान भए, त्यसपछि पारुहाङले सुम्निमालाई दूधकोसी नदीको किनारको झुपडीमा छाडेर लामो समयसम्म फर्केनन् । एक दिन सुम्निमाले वच्चाहरूको खाना खोज्दै गर्दा सुन्दर चट्टानमाथि एक लहरो बढिरहेको देखिन्, जुन लहरोलाई उनले चाखिन् त्यो चाखेपछि उनमा धेरै खुसी र शक्ति आयो । त्यसपछि उनले त्यो लहरो घरमा ल्याएर त्यसबाट बुटी तयार गरिन् । उनले तयार पारेको बुटी जो जसले देख्थे उनीहरूले आफ्ना जीवनका सत्य कुराहरू भन्थे ।
एक दिन पारुहाङ अचनाक घर फर्किए तर सुम्निमा पारुहाङसँग निकै रिसाएकी थिइन्, तर पारुहाङले सुम्निमालाई फकाउने प्रयास गरे, अनि त्यसपछि सुम्निमाले पारुहाङलाई उनले बनाएको बुटी दिइन्, बुटी पाएपछि पारुहाङले खुसी भएर आफ्नो र आफूले गरेका सम्पूर्ण कुराको बेली विस्तार लगाउन सुरु गरे । उनले त्यतिका समय हिमालको फेद (चोमोलोम्मा) सगरमाथामा ध्यान गरी संसार परिक्रमा गर्दै स्वर्ग र धर्तीको परिक्रमा गरेको बताए । साथै अबदेखि सुम्निमालाई एक्लै छाडेर कहिले पनि बाहिर नजाने वाचा गरे, जसले सुम्निमालाई धेरै खुसी बनायो र त्यही खुसिमा सुम्निमाले नाचगान गरिन्, जसलाई साकेला नाच (सिली) भन्ने विश्वास गरिन्छ ।
त्यस्तै किराँत धार्मिक ग्रन्थ मुन्धुमअनुसार किराँत राईहरू पहिला खुवालुङ ठूलो नदी गंगा सागरबाट आएका हुन्, त्यसपछि उनीहरूले साना साना नदीहरू जस्तो सप्तकोसी, अरुण उपत्यका, दूधकोसी उपत्यका, सुनकोसी उपत्यका, तमुकोसी उपत्यका हुँदै अन्त्यमा भाटेकोसी उपत्यकामा स्थायी बसोवास गरको पाइन्छ ।
यात्राका क्रममा उनीहरूले बाटामा हाँस, धोबीचरा, कल्चुडो, मृग, कस्तुरी आदि विविध पशुपन्छी र उनीहरूको हाउभाउको नक्कल गर्दै नाच्दै आएका पाउँछौं । जुन आज हामी साकेला सिली (नाच) मा त्यसको नक्कल पाउँछौं । –मेजर योगेश राई
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५