मंगलबार, माघ १, २०८१
20:02 | ०१:४७

पत्रकार महासंघ यूकेको नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता हुँदै

नेपाली लिङ्क मे २९, २०२१

लन्डन । नेपाल पत्रकार महासंघ यूकेको पाँचौं कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता शुरु हुँदैछ । पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत शनिबार मध्यान्ह १२ बजेदेखि शुरु हुने उम्मेदवारी दर्ता आइतबार साँझ ५ बजेसम्म खुला रहने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन कार्यक्रमअनुसार आइतबार बेलुका ८ बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन, सोमबार मध्यान्ह १२ बजेसम्म उम्मेदवारहरुविरुद्ध दावीविरोध एवम् उम्मेदवारी फिर्ता र मंगलबार बेलुका ८ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशनको समय निर्धारण गरिएको छ ।

पाँचौं अधिवेशनका लागि केन्द्रीय प्रतिनिधि एवम् शाखाका सल्लाहकार वरिष्ठ पत्रकार भगीरथ योगीको पहलमा सर्वसम्मतिमा नयाँ कार्यसमिति निर्माणको प्रयास जारी रहँदा चुनावी प्रक्रिया पनि अगाडि बढ्न लागेको हो । सहमति निर्माणकै प्रयासमा यसअघि प्रकाशित निर्वाचन तालिकालाई परिमार्जन गर्दै उम्मेदवारी दर्ताको कार्यक्रम दुई दिन पर सारिएको थियो ।

नयाँ नेतृत्वमा सहमति जुटाउने प्रयासमा केन्द्रीय प्रतिनिधि समेत रहेका शाखाका सल्लाहकार भगीरथ योगी, संस्थापक अध्यक्ष नवीन पोखरेल र वर्तमान कार्यसमितिका अध्यक्ष नरेश खपांगी रहेको एक कार्यदल गठन गरिएको छ । सोही कार्यदलले सहमति जुटाउन हरसम्भव कोशिश् गर्ने तर सहमति जुट्न नसकेको अवस्थामा निर्वाचन प्रक्रिया पनि अगाडि बढाउने समझदारी गरेको छ ।

नयाँ निर्वाचनका लागि रमेश सराङकोटीको संयोजकत्वमा संस्थापक अध्यक्ष नवीन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, सल्लाहकार संगीता मरहट्ठा र पूर्व सल्लाहकार केशव भण्डारी सदस्य छन् । शाखाका अध्यक्ष नरेश खपांगीमगरले नयाँ कार्यसमिति चयन प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन सबै सदस्यहरुलाई आव्हान गरेका छन् ।

‘सकेसम्म हामी सर्वसम्मत गराउने कोशिश् गर्नेछौं । तर विकल्पको रुपमा निर्वाचनको बाटो पनि खुला रहनेछ’, उनले भने । यही जुन १३ मा हुने शाखाको निर्वाचनमा कुल ४३ मतदाता छन् । शाखाको १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, २ उपाध्यक्ष (१ महिला), १ महासचिव, २ सचिव, १ कोषाध्यक्ष, १ सह-कोषाध्यक्ष र ६ सदस्य गरी १५ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुँदैछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू