बिसीसी यूकेले राजदूत र रिन्पोछेको उपस्थितिमा मनायो बुद्ध जयन्ती
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र हिज होलिनेश रब्जम रिन्पोछेको बिशेष उपस्थितिमा २५६५ औं बुद्ध जयन्ती मनाएको छ । वर्तमान महामारीको अवस्थालाई ध्यानमा राखी गत बुधबार २६ मे का दिन भर्चुअल रुपमा जयन्ती मनाइएको हो ।
भुटानबाट जुममार्फत जोडिएका बिशेष अतिथि रिन्पोछेले ओम मुनी मुनी मुनिया स्वहा, ओम मने पद्यमे हुँ, ओम आ हुँ, ओम बज्र गुरु पद्यम सिद्धि हुँ, ओम आमी दोवारी, ओम तारे तु तारे तुरे स्वहाँ, ओ भैषजे, भैषजे, महा भैषजे, राजा समुद्गते स्वहा, ओम अरापचन धि, ओम गाते गाते पारागाते, पारा समुद् गते बौद्धिय स्वहा, ओम बज्रसत्य हुँ, ओम आमा रानी जीवनदाये स्वहा, ओम जम्बला जलन्द्रीय स्वहा लगायतका मन्त्रहरु लुङ्ग (आगम) र प्रवचन (फोर शील) प्रदान गरेका थिए ।
त्यस्तै, उक्त बुद्ध जयन्तीको औपचारिक कार्यक्रम भन्दा अगावै बिसीसी यूके अल्डरसट गुम्बाका टुल्कु रिन्पोछे र खेन्पो कुन्ख्यापले शाक्यमुनी बुद्धको पूजा र आयु पूजा गरेका थिए ।
बेलायत, चीन, हङकङ, युरोप लगायत देशहरुबाट विभिन्न धर्म गुरुहरु तथा भक्तजनहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रनिनिधि, कार्यसमितिका पदाधिकारी तथा सदस्य, आमा समूह, ट्रष्टीज, सल्लाहकार, आजीवन सदस्य, भक्तजन एवं शुभचिन्तकहरु सहभागी थिए ।
बिसीसी यूके अध्यक्ष धर्म तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको पहिलो चरणमा बिसीसी यूकेका उपाध्यक्ष हर्क गुरुङले स्वागत मन्तब्य र अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा बिशेष अतिथि हिज होलिनेश रब्जम रिन्पोछे, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, डा. सुनिल, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ लगायतले शुभकामना मन्तब्य दिए ।
नेपाली राजदूतावास लण्डनबाट जुममार्फत शुभकामना मन्तब्य राखे लगतै राजदूत रेग्मी, उपनियोग प्रमुख रोशन खनाल, मेलिटरी एट्यासी, थर्ड सेक्रेटरी लगायत दूतावास कर्मचारी बिसीसी गुम्बा पुगेर बुद्ध दर्शन संगसंगै दीप प्रज्ज्वलन गरेका थिए ।
दोस्रो चरणको कार्यक्रमको शुरुवातमा गुम्बाका धर्म गुरुहरुले टशी घेपा मंगल पाठ वाचन गरेका थिए ।
त्यस्तै, बिसीसी यूकेका अध्यक्ष धर्म तामाङले हिज होलिनेश रब्जम रिन्पोछेको जीवनी, उपाध्यक्ष आङदावा शेर्पाले स्वागत मन्तब्य, सल्लाहकार जंगबहादुर गुरुङ लगायतले रिन्पोछेको लामो आयुको प्रार्थना, आमा समूहकी अध्यक्ष उर्मिला गुरुङ र संस्थापक अध्यक्ष ले.रि. काजी शेर्पाले मण्डला चढाएका थिए । त्यस्तै, उक्त चढाएको मण्डलालाई खेन्पो थुप्तेनले जुममार्फत हस्तान्तरण गरेका थिए ।
बिसीसी यूकेका उपाध्यक्ष आङ दावा शेर्पाको संयोजकत्वमा आयोजना गरिएको कार्यक्रममा उपाध्यक्ष रोबिन गुरुङले सबैलाई धन्यवाद दिए भने महासचिव क्याप्टेन देब घलेले कार्यक्रम संचालन गरेका थिए ।
उक्त कार्यक्रममा जुममार्फत करिब ७०० भन्दा बढीको सहभागिता थियो भने धेरैले बिसीसी यूकेको फेसबुक लाइभ समेत हेरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५