मंगलबार, माघ १, २०८१
20:19 | ०२:०४

बेलायतमा कोरोना संक्रमण अप्रिलयताकै उच्च

२४ घन्टामा १० संक्रमितको निधन

नेपाली लिङ्क मे २८, २०२१

लण्डन । बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार शुक्रबार चार हजार १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संख्या गत अप्रिल १ तारिख पछिकै उच्च हो । बिहीबार तीन हजार ५४२ रहेको संक्रमित संख्या एकैदिनमा ६ सय भन्दा बढी संक्रमित थपिएका हुन् ।

यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या ४४ लाख ७७ हजार ७०५ पुगेको छ ।

बेलायतका विभिन्न स्थानमा ‘इन्डियन भेरियन्ट’ को संक्रमण देखिन थालेपछि संक्रमण दर बढ्न थालेको हो । संक्रमण संख्यामा भएको वृद्धिसंगै संक्रमण मापन दर पनि एक स्तर बढेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ र ‘साइन्टिफिक एडभाइजारी ग्रुप’ द्वारा शुक्रबार सार्वजनिक तथ्यांक अनुसार कोरोना संक्रमण मापन (आर) दर १.० देखि १.१ कायम गरिएको छ ।

संक्रमण दर बढ्दै जाँदा आउँदो जुन २१ बाट पूर्ण रुपमा लकडाउनमुक्त हुने सम्भावना कम हुँदै गएको छ । कतिपय विज्ञहरुले लकडाउन खोल्ने सरकारको रोडम्यापलाई केहि महिना पछि सार्न सुझाएका छन् ।

तर, हस्पिटालिटी व्यवसायको समूहले भने यसको विरोध गर्दै आएको छ । सरकारको रोडम्याप अनुसार आगामी जुन २१ बाट लकडाउनसम्बन्धि सम्पूर्ण कानूनी प्रावधानहरु हट्नेछन् ।

पछिल्लो २४ घन्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख २७ हजार ७६८ पुगेको छ । मृतक संख्या भने खासै वृद्धि भएको छैन ।

बेलायतमा करोड ३३ लाख बढीले लगाए खोप

बेलायतमा कोरोना विरुद्धको खोप शुरु भएयता ६ करोड ३३ लाख ४९ हजार २५२ मात्रा खोप वितरण भइसकेको छ ।

जसमध्ये तीन करोड ८८ लाख ७१ हजार २०० जनाले खोपको पहिलो मात्रा लगाएका  छन् भने दुई करोड ४४ लाख ७८  हजार ५२  जनाले दुवै मात्रा लगाएको स्वास्थ्य विभागले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू