नेपालमा कोरोना संक्रमित र निको हुने बराबर


काठमाडौँ–गत २४ घण्टामा छ हजार ७१६ जना कोरोना भाइरस (कोभिड १९) संक्रमणमुक्त भएका छन् । नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएका बेला आज संक्रमितभन्दा निको हुनेको सङ्ख्या बढेको हो । यस अवधिमा छ हजार ७१४ नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस अवधिमा नयाँ संक्रमितभन्दा निको हुनेको सङ्ख्या दुई जना बढी रहेको मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पिसिआर परीक्षण गर्दा छ हजार ६७७ जना र ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ४९३ सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा एक हजार १३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना थपिएको मन्त्रालयले जनाएको छ ।
योसँगै देशभरमा संक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १७ हजार ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा १४५ जनाको कोरोनाकै कारण निधन भएको छ । हालसम्म मृतकको सङ्ख्या छ हजार ८४५ पुगेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५