सोमबार, माघ ७, २०८१
19:51 | ०१:३६

चीनद्वारा नेपाललाई थप दश लाख मात्रा खोप दिने घोषणा  

रासस मे २६, २०२१

काठमाडौँ–चीन सरकारले नेपाललाई थप १० लाख मात्रा कोभिड– १९ खोप अनुदानस्वरुप प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच आज भएको टेलिफोन वार्तामा राष्ट्रपति सीले उक्त परिमाणमा खोप प्रदान गर्ने घोषणा गरेका हुन् ।

त्यस अवसरमा राष्ट्रपतिद्वयबीच नेपाल र चीनबीचको समग्र सम्बन्धसहित कोभिड–१९ सम्बन्धी सहायताबारे छलफल एवं विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा जीवन रक्षक औषधि, चिकित्सा उपकरण र स्वास्थ्य सामग्री प्रदान गरेर नेपाललाई निरन्तर सहयोग गरेकामा राष्ट्रपति भण्डारीले चीन सरकारप्रति कृतज्ञता ज्ञापन गरेकी थिइन् ।

कोभिड–१९ विरुद्धको खोप संसारभर सबैका लागि सार्वजनिक वस्तु हुनुपर्ने राष्ट्रपति सीको अभिव्यक्तिको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले यसअघि पनि चीनले नेपाललाई आठ लाख मात्रा खोप उपलब्ध गराएकामा आभार व्यक्त गरिन् ।

नेपाललाई चीनबाट कोभिड–१९ विरुद्धको खोप खरिदमा सहजीकरणका निम्ति पनि उनले आग्रह गरेकी थिइन् ।

दोस्रो लहरको महामारीका कारण नेपालले सामना गर्नुपरेको कठिन परिस्थितिलाई स्वीकार गर्दै राष्ट्रपति सीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा चीन सरकारको पूर्ण सहयोग रहने बताए । उनले खोप सहायतामा चीनले नेपाललाई उच्च प्राथमिकतामा राख्ने आश्वासन पनि दिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

अहिलेको कठिन परिस्थितिमा थप खोप सहायता उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिको नयाँ घोषणाका निम्ति उनीप्रति आभार व्यक्त गर्दै राष्ट्रपति भण्डारीले कोरोनाविरुद्ध लडिरहँदा चिनियाँ सहयोग जारी रहने विश्वास व्यक्त गरेकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू