न्यूयोर्कमा मे २९ ‘नेपाली अमेरिकन हेरिटेज डे’ का रुपमा मनाइने
न्यूयोर्क । अमेरिकाको न्यूयोर्क राज्यभर मे २९ लाई अब ‘नेपाली अमेरिकन हेरिटेज डे’ का रुपमा मनाइने भएको छ । राज्य संसदमा सांसद जेनिफर राजकुमारले स्पोन्सर गरेको रिज्योलुशन नम्बर ३३० न्यूयोर्कको राज्य संसदबाट मंगलबार स्वीकृत भएको हो ।
यो रिज्योलुशन सोमबार संसदको क्यालेण्डरमा चढाइएको थियो । उनले न्यूयोर्क राज्य संसदमा डिस्ट्रिक्ट ३८ बाट प्रतिनिधित्व गर्छिन् । जुन क्षेत्र क्वीन्सको ग्लेनडेल, ओजन पार्क, रिचमण्ड हिल, रिजउड, उडह्याभन लगायत पर्छन् ।
राज्य संसदमा यो प्रस्तावको को-स्पोन्सर राज्य सांसद जेफ्रियन ओब्रीले गरेका थिए । उनले न्यूयोर्क राज्य संसदमा नेपालीहरुको समेत बाक्लो बसोबास रहेको क्षेत्र डिस्ट्रिक्ट ३५ को एल्महर्स्ट, ज्याक्सनहाइट, कोरोना, लेफ्राकसिटी, उडसाइडको लगायत क्षेत्रको प्रतिनिधित्व गर्छन् ।
गभर्नर एन्ड्रयु कुमोबाट मे २९ लाई न्यूयोर्क राज्यमा नेपाली अमेरिकन हेरिटेज दिवसका रुपमा घोषणा नामको उक्त रिज्योलुशनमा नेपाल डेको उपलक्ष्यमा न्यूयोर्क राज्यको नेपाली अमेरिकन समुदायलाई खुशी र गर्वका साथ सम्मान गर्नु संसदीय निकायको प्रचलन रहेको उल्लेख गरिएको छ । त्यसैले मे २९ लाई न्यूयोर्क राज्यमा नेपाली अमेरिकन हेरिटेज डेका रुपमा घोषणा गर्नु न्यूयोर्क राज्यको संसदीय निकायका लागि पनि गर्वको कुरा भएको उल्लेख छ ।
मे २९ मा नेपालमा २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य भएर गणतन्त्र घोषणा भएको दिन भएको र नेपाली पात्रोअनुसार यो दिन जेष्ठ १५ मा पर्ने समेत रिज्योलुशनमा उल्लेख छ । सन् २००६ मा १० वर्षलामो गृहयुद्धको समाप्ती र सन् २०१५ मा विनाशकारी महाभूकम्प हुँदै नेपाल संघीय गणतन्त्रमा प्रवेश गरेको विषयलाई पनि रिज्योलुशनमा समेटिएको छ ।
न्युयोर्क सिटी न्यूयोर्क राज्यमा रहेका ६७ प्रतिशत नेपालीहरुको घर रहेको र त्यसमा पनि ८७ प्रतिशत न्यूयोर्कबासी नेपालीहरु क्वीन्समा बस्ने रिज्योलुशनमा उल्लेख छ । मे २९ सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ मा सगरमाथा आरोहण गरेको वार्षिकी समेत रहेको उल्लेख गर्दै रिज्योलुशनमा भनिएको छ – ‘नेपाल सुन्दर हिमालका लागि परिचित रहेको छ भने सगरमाथाको महान विश्वब्यापी महत्व छ ।’
रिज्योलुशन पारित भएपछि यसको प्रति गभर्नर एन्ड्रयु कुमो, न्यूयोर्कमा रहेको नेपाली महावाणिज्यदूतावास र न्यूयोर्कमा रहेका नेपाली आधारित परोपकारी र विभिन्न संघसंस्थाहरुलाई प्रदान गर्ने रिज्योलुशनमा उल्लेख छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५