सोमबार, माघ ७, २०८१
11:59 | १७:४४

म्यान्मारकी नेतृ सुकी पहिलोपटक अदालतमा

रासस–एपी मे २४, २०२१

फोटो सीएनएन

बैंकक, १० जेठ– म्यान्मारकी नेतृ आङ सान सु की पहिलो पटक अदालतमा स्वयं उपस्थित भएकी छन् । गत फेब्रुअरी १ तारिखका दिन सत्ताच्यूत गरिएकी सुकीलाई त्यसयता सेनाले विभिन्न आरोपमा गिरफ्तार गरी जेलमा राखेको थियो ।

उनका एक जना वकील मिन मिन सोले टेलिफोनमा बताए अनुसार सुकीलाई राजधानी न्यापिटअस्थित नगर परिषद भवनमा स्थापना गरिएको विशेष अदालतमा उपस्थित हुनुअघि आफ्ना वकीलहरुसँग भेट गर्न दिइएको छ ।

कानुन व्यवसायीहरुले अपदस्थ राष्ट्रपति विन मिन्टसँग पनि भेटघाट गरेका छन् । मिन्ट विरुद्ध पनि सुकीका झैं आरोपहरु लगाइएका छन् ।

सुकी विरुद्ध धेरैवटा फौजदारी अभियोग लगाइएको छ । यसअघि सुकीलाई भिडियो लिङ्कमार्फत अदालती सुनुवाइ गरिएको थियो । उनलाई कुनै पनि कानुन व्यवसायीसँग भेटघाट गर्न दिइएको थिएन ।

कानुन व्यवसायी मिन मिन सोले म्यान्मारका जनताप्रति सुकीले सन्देश पठाउँदै नेसनल लिग फर डेमोक्रेसी पार्टी (एनएलडी) जनताको अधिकारको पक्षमा सदा झैं अटल भएर उभिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

सुनुवाई पश्चात मिन मिनले भने, ‘सुकीले अदालतमा आम बर्मेली जनताको सुस्वास्थ्य र भलाई होस् भन्नुभयो र एनएलडी जनताको पार्टी भएकाले जनता रहेसम्म एनएलडी सदा जीवित रहने छ ।’

मिन मिनले भने, ‘सुकी स्वस्थ र आत्मविश्वासपूर्ण देखिनु भएको छ ।’

सोमबारको सुनुवाईमा सुकी विरुद्ध लगाइएका मुख्यतः छ वटा फौजदारी मुद्दामाथि केन्द्रित रहेर सोधपुछ गरिएको थियो ।

उनीमाथि सन् २०२० को चुनावी अभियानका क्रममा कोभिड–१९ का नियमहरु उल्लङ्घन गरेको, सुकीका अङ्गरक्षकका लागि वाकी–टाकीहरु गैरकानुनी रुपमा आयात गरेको, रेडियोको लाइसेन्स नलिएको तथा सार्वजनिक अस्थिरता फैल्याउने गरी समाजमा भ्रम फैल्याएको आरोप छ ।

सु की माथि लगाइएको सबैभन्दा गम्भीर आरोप उपनिवेशकालीन सरकारी गोप्यता सम्बन्धी ऐनको उल्लङ्घन हो । यस कानुनको उल्लङ्घन गर्नेमाथि १४ वर्षसम्मको जेल सजाय हुन सक्दछ र यस मुद्दाको सुनुवाई अर्कै अदालतले हेर्दैछ ।

सुकीका समर्थकहरुले अदालती सुनुवाई राजनीतिक प्रेरित रहेको बताउँदै आएका छन् । उनीहरुको भनाईमा सेनाले आफूले सत्ता हत्याएको कुरा प्रमाणित गर्न चाहिरहेको छ । यदि यी मुद्दाहरुमा सुकी दोषी ठहर भए आगामी एक वा दुई वर्षभित्र सेनाले गराउने भनिएको चुनावमा सुकीलाई उठ्न दिइने छैन ।

सेनाले सत्ता विद्रोह गरेयता लोकतन्त्र पुनर्वहालीको माग गर्दै सडकमा उत्रेका पाँच सयभन्दा बढी व्यक्तिको सेनाको गोली लागेर ज्यान गइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू