सोमबार, पुष २९, २०८१
14:33 | २०:१८

नेपाललाई सहयोगको अपिल गर्दै बेलायती मन्त्रीलाई ज्ञापन

नेपाली लिङ्क मे २३, २०२१


लन्डन । बेलायतको स्वीन्डन क्षेत्रमा बस्ने नेपालीहरुले नेपाललाई कोभिड महामारीविरुद्धको लडाईंमा सघाउन एक बेलायती मन्त्रीसमक्ष आग्रह गरेका छन् ।  

नेपाली एशोसिएसन अफ विल्शायरले शुक्रबार बेलायत सरकारका कानूनमन्त्री रोबर्ट बकल्यान्डलाई एक ज्ञापनपत्र बुझाएर नेपालको सहयोगका लागि पहल गर्न अपिल गरेको छ ।

स्वीन्डन क्षेत्रबाट बेलायती संसदमा प्रतिनिधित्व गर्ने सांसद समेत रहेका मन्त्री बकल्यान्डलाई नेपालको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै बेलायत सरकारबाट सहयोगको प्रबन्ध गर्न आग्रह गरिएको थियो ।  

त्यसअवसरमा कानूनमन्त्रीमा नियुक्त बकल्यान्डलाई समाजका तर्फबाट बधाई ज्ञापन गर्दै अध्यक्ष ज्ञानप्रसाद गुरुङले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए   

आफ्नो सम्मानमा कार्यक्रम आयोजना गरेकोमा मन्त्री बकल्यान्डले आभार प्रकट गरेका थिए । उनले बेलायतको विशेष सम्बन्ध रहेको मित्रराष्ट्र नेपालमा कोभिड महामारीको कारण उत्पन्न संकटबारे बेलायत सरकार जानकार रहेको भन्दै सक्दो सहयोगको पहल हुने विश्वास दिलाए ।

यसैबीच, मन्त्री बकल्यान्डले आइतबार समाजका अध्यक्ष ज्ञानप्रसाद गुरुङलाई सन्देश पठाएर नेपाली एशोसिएसन अफ विल्शायरको ज्ञापनपत्र बेलायत सरकारका परराष्ट्रमन्त्रीसमक्ष पेश गरिसकेको जानकारी गराएका छन् ।  

अध्यक्ष गुरुङले आफूहरुको अपिललाई तत्काल नै बेलायत सरकारको सम्बन्धित निकायमा पुरयाउने मन्त्री बकल्यान्डप्रति आभार प्रकट गरेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू