सोमबार, पुष २९, २०८१
14:41 | २०:२६

कोभिड राहतका लागि मिडल्याण्डबाट ८ हजार पाउण्ड बढी संकलित

नेपाली लिङ्क मे २२, २०२१

लन्डन । साझा नेपाली समाज यूके (मिडल्याण्ड) को संयोजनमा नेपालमा तत्काल कन्सन्ट्रेटर एवं स्वास्थ्य उपकरण पठाउन ८ हजार पाउण्ड बढी जुटाइएको छ ।

कोरोना महाविपत्तिमा नेपालीलाई बचाउन एनआरएनए यूके र नेपाली राजदूतावास बेलायतले शुरु गरेको संयुक्त अभियानमा सघाउन चार दिनमा आठ हजार पाउण्ड भन्दा बढी रकम उठाएर एनआरएनए यूकेको खातामा जम्मा गरिएको हो ।

साझाले मातृभूमिमा दुःखको बेला मिडल्याण्ड र वरपर बस्दै आएका नेपालीबाट यति ठूलो रकम उठाउन सफल भएको हो । साझा नेपाली समाजले तत्काल कार्यसमिति बैठक बोलाई आपतकालिन सहयोगको अपिल गर्दै संस्थाका निवर्तमान अध्यक्ष महेश अधिकारीलाई संयोजक तोकेको थियो भने स्थानीय समाजका अध्यक्ष, पदाधिकारी, सामाजिक अभियन्ता लगायतबाट सहयोग रकमको प्रतिवद्धता आएको थियो ।

मिडल्याण्डका संघसस्था, वरपर बस्ने नेपाली समुदाय, सामाजिक अभियन्ताहरु, एनआरएनए प्रतिनिधि एवं अधिकांश मिडल्याण्डवासी दिल खोलेर सहयोग कार्यमा जुटेका थिए ।

उल्लेख्य रुपमा २१ सय पाउण्ड सहयोग रकम दिने ग्रान्थाम नेपाली समुदाय थियो भने नटिङघम नेपाली समाज र स्थानीय अग्रज एवं सदस्य, श्रृजनशील समाज लेष्टर, हाम्रो नेपाली समाज ओल्वरह्याम्प्टन, बर्मिङहम, डर्बी, कभेन्ट्री, पिटरबरोबाट पनि उल्लेख्य सहयोग रकम उठेको छ । साझा नेपाली समाजले आपतका बेला सहयोग गर्ने सबै सहयोगीहरुप्रति कृतज्ञता प्रकट गरेको छ ।

साझा नेपाली समाज यूकेका अध्यक्ष कृष्ण शर्मा सापकोटाले छोटो समयमा देशका लागि माया गर्ने नेपालीहरुले सहयोग गरेकामा आभार प्रकट गर्दै कोभिड कहरमा गत वर्ष पनि समाजले उल्लेख्य सहयोग एनआरएनएलाई पठाएको बताए ।

अध्यक्ष शर्माले मिडल्यान्डवासीको मनकारी सहयोग रकम जुन उद्देश्यका लागि उठाइएको हो, सोका लागि पारदर्शी रुपमा उपयोग होस् भन्दै नेपालमा कोभिड विपत्ति टार्न यो सहयोगीसिद्ध बनोस् भन्ने चाहना मिडल्यान्डवासीको रहेको पनि बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू