सोमबार, पुष २९, २०८१
14:32 | २०:१७

नेपालमा महामारीविरुद्ध जुध्न बेलायती सेनाको मेडिकल टोली पठाइंदै

नेपाली लिङ्क मे २२, २०२१

फाइल तस्विर

लन्डन । नेपालमा कोभिड महामारीको संक्रमण उत्कर्षमा पुगिरहेका बेला बेलायतले सहयोगको हात अघि बढाएको छ ।  

बेलायत सरकारले नेपाललाई महामारीविरुद्धको लडाईंमा सघाउन बेलायती सेनाको मेडिकल टोली पठाउने भएको छ ।  

बेलायत सरकारका परराष्ट्र राज्यमन्त्री लर्ड अहमदले आउंदो साताको शुरुसम्ममै बेलायती सेनाको मेडिकल टोली नेपाल पुग्ने जानकारी गराएका छन् ।  

बेलायती सेनानिकट ‘फोर्सेज् डट नेट’ मा ‘मिलिटरी मेडिकल र एड्भाइजरी टीम’ नेपाल पठाउन लागिएको उल्लेख छ । तर उक्त टोली कति संख्याको हुने तथा टोलीमा बेलायती सेनामा सेवारत गोर्खाहरु पनि समावेश हुने कि नहुने भन्नेबारे स्पष्ट गरिएको छैन ।

यसअघि महाभूकम्पपछिको उद्धारमा जस्तै नेपाल पठाइने बेलायती सेनाको टोलीमा गोर्खा सैनिकहरु पनि रहने आंकलन गर्न सकिन्छ ।  

बेलायतले महामारीसँग जुधिरहेका अन्य देशको सहयोगमा पनि आफ्नो सेना खटाइसकेको छ । लकडाउनमा नेपालमै अड्किएका कयौं बेलायती नागरिकहरुको उद्धारमा समेत बेलायती सेना खटाइएको थियो ।  

नेपालले पनि महामारी नियन्त्रणको प्रयासमा आवश्यक सहयोगका लागि विभिन्न माध्यमबाट बेलायत सरकारलाई आग्रह गरिसकेको छ ।

बेलायतवासी नेपालीहरु र केही संघसंस्थाले समेत आ-आफ्नो क्षेत्रका काउन्सिलर, मेयर सांसद लगायतको ध्यानाकर्षण गराउँदै बेलायत सरकारबाट नेपाललाई सहयोग दिलाउन पहल गरिरहेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू