आइतबार, भदौ २३, २०८१
10:05 | १४:५०

मध्यरातमा पुन: संसद विघटन सिफारिस, कार्तिक-मंसिरमा मध्यावधि

नेपाली लिङ्क मे २१, २०२१

फाइल तस्बिर- रासस

काठमाडौँ । मध्यरातमा सम्पन्न मन्‍त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधिसभा विघटनको निर्णय गरेको छ ।  

सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि कात्तिक २६ र मंसिर ३ गतेको मिति तोकेर राष्ट्रपतिसमक्ष सिफारिस गरिएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिबाट निर्वाचन मिति घोषणा हुनेछ । शुक्रबार मध्यरातमा राष्ट्रपतिले सरकार गठनका लागि परेका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी खारेज गरिदिएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको थियो ।   

एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाको दावी नपुग्ने ठहर

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नेकपा (एमाले) का अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति देउवा दुवैको दावी नपुग्ने देखिएकाले नियुक्ति गर्न नमिल्ने निर्णय गरेकी छन् ।

राष्ट्रपति कार्यालयले आज राति जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सो दावी नपुगेको कुरा जनाइएको छ ।

विज्ञप्तिमा प्रधानमन्त्री ओलीले नेकपा (एमाले) का १२१ र जनता समाजवादी पार्टी नेपालका ३२ सदस्यको समर्थन प्राप्त भएको दावी गरे पनि एमालेका २६ र जसपाका १२ जनाले अर्का दावीकर्ता कांग्रेस सभापति देउवालाई हस्ताक्षर गरेको देखिएको जनाइएको छ ।

त्यस्तै, सभापति देउवालाई कांग्रेसका ६१, नेकपा (माओवादी केन्द्र) का ४९, जसपाका १२, एमालेका २६ र जनमोर्चा नेपालकी दुर्गा पौडेलको समर्थन हस्ताक्षर भए पनि एमाले र जसपा पार्टी र संसदीय दलका अध्यक्षका तर्फबाट आफ्ना दलका सदस्यको सो हस्ताक्षरलाई अस्वीकृत गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

दावीकर्ता दुवै प्रतिनिधिसभा सदस्यका समर्थक भनिएका सदस्य एकार्कामा दोहोरो परेको, दलको निर्णय विपरीत एकले अर्कालाई समर्थन गरेको र सम्बन्धित दलले मान्यता नदिन लेखिआएको तथा संविधानको धारा ८९ एवं राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई ध्यानमा राख्दा दुवैले विश्वास प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएको विज्ञप्तिमा स्पष्ट गरिएको छ ।

राष्ट्रपतिले आज साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दावी गर्न प्रतिनिधिसभा सदस्यलाई आह्वान गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू