सोमबार, पुष २९, २०८१
14:42 | २०:२७

एफएनजे यूके अधिवेशनमा केन्द्रीय प्रतिनिधि तोकिए योगी, सहमतिको पहल हुने

नेपाली लिङ्क मे २०, २०२१

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको आसन्न पाँचौ अधिवेशनका लागि वरिष्ठ पत्रकार भगिरथ योगी केन्द्रीय प्रतिनिधि नियुक्त भएका छन् ।  

बुधबार महासंघ केन्द्रीय महासचिव रोशन पुरीले पत्रकार योगीलाई महासंघ बेलायत शाखाको जुन १३ मा तय अधिवेशनको केन्द्रीय प्रतिनिधि तोकेका हुन् ।  

केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाएपछि योगीले सहमति निर्माणको पहल शुरु गरेको बताएका छन् । बुधबारबाटै विवाद समाधानको पहल थालेका उनले सकेसम्म सर्वसम्मतिमै नयाँ कार्यसमिति चयनको प्रयास गरिने बताए ।

गत ९ मे २०२१ मा सम्पन्न पूर्ण कार्यसमितिको बैठकले भर्चुअल रुपमा १३ जुनमा पाँचौ अधिवेशन र नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय विपरीत निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशित गरेको भन्दै महासचिव संजय कंडेलले विज्ञप्ति निकालेपछि विवाद उत्पन्न भएको थियो ।

‘महासंघ बेलायत शाखालाई एकतावद्ध गरि सहमतिमा नयाँ कार्यसमिति गठन गर्न नेपाल पत्रकार महासंघको निर्देशन अनुसार महासंघ यूके अध्यक्ष नरेश खपांगी मगरलगायतका सबै पक्षसँग वार्ता गरि सहमतिमा पुग्ने विश्वास छ,’ केन्द्रीय प्रतिनिधि योगीले भने, ‘सदस्यता शुद्धिकरण कार्यान्वयन समितिको संयोजकको रुपमा काम गर्न साथीहरुले जसरी सहयोग गर्नु भएको थियो, अधिवेशनको प्रक्रिया पनि पारदर्शी र सर्वसम्मत ढंगले संचालन गर्न सबै साथीहरुको साथ र सहयोग प्राप्त हुने मैले विश्वास लिएको छु ।’

उनले महासंघ बेलायत शाखाको विवादका बारेमा निर्वाचन समितिका पदाधिकारीहरूसँग औपचारिक, अनौपचारिक छलफल गरि सहमतिमा नयाँ कार्यसमिति गठन गर्न सहयोग लिने तयारी समेत गरेको बुझिएको छ ।

सहमतिमै कार्यसमिति गठन गर्न हरसम्भव प्रयास गरिने तर सहमति जुट्न नसकेको अवस्थामा स्वच्छ र निष्पक्ष निर्वाचनको वातावरण तयार गर्न समेत भूमिका खेल्ने योगीले बताएका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू