ब्राजिलमा कोरोनाबाट ४ लाख ३९ हजार बढीको मृत्यु
२४ घण्टामा ७५ हजार बढी संक्रमित
रियो डे जेनेरियो– ब्राजिलमा बुधबार कोरोना भाइरस सङ्क्रमणका कारण थप २ हजार ५१३ जनाको मृत्यु भएको छ । योसँगै यहाँका नागरिकको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५० जना पुगेको छ ।
गत २४ घण्टामा ब्राजिलमा ७५ हजार जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ब्राजिलमा कुल संक्रमितको संख्या १ करोड ५७ लाख ३२ हजार पुगेको पनि यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
ब्राजिलको साओ पाउलो सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्यको रुपमा रहेको पनि समाचारमा जनाइएको छ । विश्वमा कोरोना भाइरस संक्रमणको कारण सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्रको रुपमा ब्राजिल हाल दोस्रो स्थानमा छ ।
कोरोनाबाट ज्यान गुमाउनेमा अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा छ । तर धेरै संक्रमित हुनेमा भने ब्राजिल तेस्रो स्थानमा छ । विश्वमा कोरोना भाइरसका सबैभन्दा धेरै नागरिक अमेरिकामा, दोस्रोमा भारत र तेस्रोमा ब्राजिलमा संक्रमित भएका छन् ।