सोमबार, पुष २९, २०८१
14:39 | २०:२४

बेलायतमा संक्रमण घटेपनि ‘इन्डियन भेरिएन्ट’ को जोखिम उच्च

२४ घन्टामा ७ जनाको मृत्यु

नेपाली लिङ्क मे १८, २०२१


लन्डन । बेलायतमा पछिल्लो समयमा कोरोना प्रभाव निरन्तर ओरालो लाग्दै गइरहेको छ । तर, विगत केहि दिनयता ‘इन्डियन भेरिएन्ट’ को संक्रमण तीव्र भएपछि बेलायत तेस्रो लहरको मारमा पर्न सक्ने सम्भावना बढेको छ ।

बढी संक्रामक रहेको उक्त भाइरस बेलायतका विभिन्न स्थानहरुमा देखा परेको छ । यसको संक्रमण बढेसंगै आगामी जुन २१ मा पूर्ण रुपमा खुला गरिने भनिएको लकडाउन प्रभावित हुन सक्ने सरकारले चेतावनी दिएको छ ।

पछिल्लो २४ घन्टामा बेलायतमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । योसंगै बेलायतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ६९१ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा दुई हजार ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ५० हजार ३९२ पुगेको छ ।

बेलायतमा हाल सक्रिय संक्रमितको संख्या करिब ४५ हजार रहेको छ भने छ ४२ लाख ८० हजार भन्दा बढी संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।

५ करोड ७३ लाख बढी डोज खोप वितरण

बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि कुल ५ करोड ७३ लाख ५७ हजार ८५७ डोज खोप वितरण भएको छ । जसमध्ये ३ करोड ६८ लाख ११ हजार ४०५ जनाले पहिलो र दुई करोड ५ लाख ४६ हजार ४५२ जनाले खोपको दोस्रो डोज लगाएका छन् ।

हालसम्म कोरोनाभाइरस महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या ३४ लाख नाघेको छ । 

कोभिड संक्रमणबाट संयुक्तराज्य अमेरिकामा ६ लाख  हजार, ब्राजिलमा ४ लाख ३६ हजार, भारतमा २ लाख ३० हजार, मेक्सिकोमा २ लाख २० हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २४ हजार, रसियामा १ लाख १६ हजार, फ्रान्समा एक लाख ७ हजारको मृत्यु भइसकेको  छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू