एनआरएनए यूकेले एक सय अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउने
३ घण्टाभित्रै जुटे ६४ कन्सन्ट्रेटर
लन्डन । एनआरएनए यूकेले कोभिड १९ महामारीबाट ग्रस्त नेपालमा एकसय अक्सिजन कन्सन्ट्रेटर पठाउने भएको छ ।
शनिबार लन्डनस्थित नेपाली राजदूत लोकदर्शन रेग्मी समेतको रोहबरमा भएको आपतकालिन बैठकमा अक्सिजन कन्सन्ट्रेटर सहयोग पठाउने घोषणा गरिएको हो ।
बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाको सहयोगमा कम्तीमा एक सय अक्सिजन कन्सन्ट्रेटर पठाउने योजना एनआरएनए यूकेले बनाएको छ । शनिबारको आपतकालीन बैठकबाटै उपस्थित संघसंस्थाका प्रतिनिधिले ६४ वटा कन्सन्ट्रेटर बराबरको सहयोग प्रतिबद्धता गरिसकेका छन् ।
बैठकमा सहभागीहरुले संस्थागत तथा व्यक्तिगतरुपमा समेत अक्सिजन कन्सन्ट्रेटर किन्न सहयोग गर्ने घोषणा गरेका थिए । एउटा अक्सिजन कन्सन्ट्रेटर किन्न करिब ७ सय डलर पर्ने जनाइएको छ ।
सहयोग गरिने अक्सिजन कन्सन्ट्रेटर खरिद र वितरणमा एनआरएनए आइसीसी समेतसँग समन्वय गर्ने योजना छ ।
एनआरएनए यूके अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथि राजदूत रेग्मीले मातृभूमिका लागि बेलायतस्थित नेपालीको सहयोग प्रशंसनीय भएको बताउंदै अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल पठाउन समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका थिए। अक्सिजन कन्सन्ट्रेटरको खरिद तथा वितरणमा सरकारी स्तरबाट सम्भव हुने सबै सहयोगको पहल गर्ने विश्वास दिलाए ।
एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले बेलायतस्थित सबै नेपाली संघसंस्थासँग समन्वय गर्दै सक्दो चाँडो अक्सिजन कन्सन्ट्रेटर नेपाल पुर्याउने कोशिश् गर्ने बताइन् ।
आपतकालिन सहयोगको अभियानमा सहयोग गर्ने दूतावास एवम् सबै संघसंस्थाप्रति उनले आभार प्रकट गरिन् ।
महासचिव फडिन्द्र भट्टराईले सञ्चालन गरेको बैठकमा आइसीसी महासचिव डा. हेमराज शर्मा, पूर्व अध्यक्षहरु सूर्य गुरुङ, कुल आचार्य, महेन्द्र कंडेल र योगकुमार फगामी, युरोप उपसंयोजक कृष्ण तिमल्सेना, बेलायतस्थित दर्जनौं नेपाली संघसंस्थाका प्रतिनिधि, काउन्सिलरहरु, सामाजिक अभियन्ताहरु लगायतको सहभागिता थियो । सहभागीहरुले मातृभूमिमा अप्ठेरो पर्दा सहयोग गर्ने आफूहरुको प्रमुख दायित्व भएको बताएका थिए ।
बैठकले नेपाललाई सहयोग जुटाउने तथा पठाउने प्रायोजनमा एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा एक ‘स्टेरिङ’ कमिटी निर्माणको घोषणा गरेको छ ।
समितिमा आइसीसी महासचिव डा. हेमराज शर्मा, युरोप उपसंयोजक कृष्ण तिमल्सेना, उपमेयर लक्ष गुरुङ, काउन्सिलर जीव बेल्वासे, एनआरएनए यूके संरक्षकहरु, महासचिव, कोषाध्यक्षसहितका पदाधिकारी पनि सदस्य रहनेछन् ।
समितिले परिस्थितिको मुल्यांकन गर्दै सोहीअनुसार सहयोग अभियान अघि बढाउने र आवश्यकताअनुसार विभिन्न उपसमितिहरु गठन गर्न सक्ने भनिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५