उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस



लकडाउनका बेला काठमाडौँको भद्रकाबालीबाट देखिएको शहीद गेट र हालै निर्माण सम्पन्न धरहरा । दायाँबायाँ ढकमक्क फूलेको ज्याकाराण्डा फूल । तस्बिर- रत्न श्रेष्ठ, रासस
काठमाडौं–काठमाडौँ उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न जिल्लास्थित कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उक्त सिफारिसका विषयमा मङ्गलबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको सहभागितामा हुने बैठकले आवश्यक निर्णय लिनेछ ।
पछिल्लो समयमा मुलुकभर कोभिड १९ सङ्क्रमण बढ्दै जाँदा उपत्यका थप प्रभावित हुँदै गएकाले निषेधाज्ञा लम्ब्याउनुपर्ने आवश्यकता देखिएको प्रजिअ पराजुलीले बताए । यसअघि वैशाख १६ गतेदेखि लागू हुने गरी उपत्यकामा एक साता निषेधाज्ञा जारी गरिएको थियो ।
त्यसपछि थप कडाइ गर्दै पुन अर्काे एक साता आदेश थप भएको थियो । यही २९ गते रातिबाट उक्त आदेशको समय सकिन लागेकाले पुनः थप गर्ने तयारी गरिएको हो । पछिल्लो समयमा उपत्यकामा दैनिक झण्डै चार हजारको हाराहारीमा सङ्क्रमित भेटिँदै आएका छन् ।
यसैबीच काठमाडौँ प्रशासनले आज एक सूचना जारी गरी सरकारले तोकेको भन्दा बढी शुल्क नलिन स्वास्थ्य संस्थालाई आग्रह गरेको छ । अनुगमनका क्रममा विभिन्न समस्याहरु देखिएको जनाउँदै प्रशासनले त्यसलाई गम्भिरतापूर्वक लिई व्यवस्थित गर्न अनुरोध गरेको छ ।
अस्पतालमा अक्सिजनको व्यवस्थापन सही तरिकाले गर्न, स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न, गराउन र कोभिड १९ का बिरामीलाई अत्यावश्यक औषधिहरु सही व्यवस्थापन गरी उच्चतम उपयोग गर्न पनि प्रशासनले अस्पताललाई ध्यानाकर्षण गराएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५