बेलायतमा संक्रमण घटेसंगै प्रधानमन्त्रीद्वारा लकडाउन सहजको घोषणा
आउँदो हप्ताबाट लकडाउन हट्दै
लन्डन–बेलायत सरकारको पूर्व निर्धारित मिति अनुसार नै आउँदो मे १७ बाट इंग्ल्याण्डमा हाल जारी लकडाउन खुकुलो बनाइने प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । आउँदो सोमबारबाट पब तथा रेष्टुरेन्टमा ग्राहकहरुले भित्रै बसेर खानपिन गर्न सक्नेछन्, ग्यालरी, थिएटर, सिनेमा हल लगायतका स्थानहरु पनि संचालनमा आउनेछन् ।
यसैगरी ६ जनासम्मको समूह वा दुई परिवारबीच घरभित्र भेट्न सक्नेछन् । परिवार तथा साथीभाईबीच ३० जनासम्म आउटडोरमा भेट्न पाइनेछ भने विवाह तथा अन्त्यष्ठीमा पनि ३० जनासम्म जम्मा हुन पाउनेछन् ।
यूकेभित्र होटल, होस्टेल र बी एण्ड बीमा रात बिताउन सकिनेछ भने खेल तथा अभ्यास कक्षा र सौना, स्टिम रुमहरु पनि खुल्ला हुनेछन् ।
यसैगरी आउँदो सोमबारबाट सेकेण्डरी स्कुल र कलेजमा मास्क लगाउन आवश्यक नपर्ने भएको छ ।
यसैबीच, बेलायतमा पछिल्लो २४ घन्टामा चार जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससंगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ६०९ पुगेको छ । अघिल्लो दिन आइतबार पनि दुई जनाको मात्र मृत्यु भएको थियो ।
यसैगरी पछिल्लो २४ घन्टामा दुई हजार ३५७ जनामा संक्रमण पुष्टि भएको छ । नयाँसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ३७ हजार २१७ पुगेको छ । बेलायतमा हाल सक्रिय संक्रमितको संख्या ५८ हजार ९०९ छ भने ४२ लाख ५० हजार ६९९ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ । सक्रिय संक्रमितको संख्या निरन्तर ओरालो लाग्दै गएको छ भने निको हुनेको संख्या पनि थपिंदै गएको छ ।
५ करोड ३३ लाख बढी डोज खोप वितरण
बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि कुल ५ करोड ३३ लाख २८ हजार ८४५ डोज खोप वितरण भएको छ । जसमध्ये ३ करोड ५४ लाख ७२ हजार २९५ जनाले पहिलो र एक करोड ७८ लाख ५६ हजार ५५० जनाले दोस्रो डोज लगाएका छन् ।