एनआरएनए यूकेको नयां नेतृत्व सहमतिमै चयन गर्न खड्काको आव्हान
लन्डन । एनआरएनए यूके उपाध्यक्ष एवं नयां नेतृत्वका लागि अध्यक्ष पदका एकजना प्रत्यासी सुनिलबाबु खड्काले सहमतिमै भावी नेतृत्व चयन गर्न आव्हान गरेका छन् ।
एनआरएनए यूकेमा चुनावी सरगर्मी बढिरहेका बेला खड्काले सहमतिमा नेतृत्व चयन गरेर बरु त्यसमा लाग्ने खर्च र परिश्रम समाजसेवामा सदुपयोग गर्न अपिल गरे ।
‘साथीहरु सहमतिमा जानुहुन्छ भने म आफ्नो आकांक्षा त्याग्न तयार छु’, खड्काले नेपालीलिंकसंग भने, ‘मिलौं भन्नुको अर्थ मैले पद पाउनुपर्छ अरुले मैदान छाडुन् भन्ने होइन् । समाजलाई एकजुट बनाएर लैजाने कुरामा म सधैं सकारात्मक छु । समाज विभाजन नहोस्, म मैदानबाट बाहिरिन तयार छु ।’
समाजसेवी तथा व्यवसायी खड्काले सहमतिको आव्हानलाई आफ्नो कमजोरीका रुपमा नलिइदिन पनि आग्रह गरे ।
नेपालमा राजनीतिक तथा सामाजिक क्षेत्रमा गुट उपगुट र विभाजनको आगो सल्किरहेका बेला बेलायतका नेपाली पनि सोही मार्ग पछ्याइरहेकामा चिन्ता व्यक्त गर्दै खड्काले जीत हार आफ्नो ठाउंमा होला तर मित्रता भने कहिल्यै नटुटोस् भन्ने कामना पनि गरेका छन् ।
‘हामी किन एकअर्काबीच युद्ध मैदानमा जस्तो दुस्मनी गरेर हिंड्ने ? आखिर समाजसेवा नै हाम्रो मुल उद्देश्य हो भने मिलेर अगाडि बढौं’, उनको सुझाव छ, ‘समाजसेवा त भाइचाराबाट पो हुने हो, इगो वा बैमनस्यताबाट होइन जस्तो लाग्छ ।’
एनआरएन बेलायत विश्वभर सबैको नजरमा रहेको बताउँदै उनले एकताको सन्देश दिन पनि सहमति जरुरी रहेको औंल्याए ।
खड्काले एनआरएनए यूकेभित्रको आन्तरिक विवाद आफैं समाधान गर्नुपर्नेमा जोड दिंदै आर्थिक मुद्दामामिलामा लागेका आफ्ना सहकर्मीलाई पनि त्यो बाटो त्यागेर मध्यमार्गी विकल्प अपनाउन अपिल गरेका छन् ।
चुनावका बेला आफ्नो स्वार्थ पूर्ति र धमिलो पानीमा माछा मार्न केही जमात उद्यत रहेको तर्फ इंगित गर्दै खड्काले त्यस्तो प्रवृत्तिलाई दुरुत्साहित गर्न पनि जोड दिए ।
एनआरएनए यूकेको नयां नेतृत्वका लागि खड्कासहित दुई उपाध्यक्षहरु रोजिनाप्रधान राई र प्रेम गाहामगर एवं इंग्ल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष दीपक श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।