सोमबार, माघ ७, २०८१
04:01 | ०९:४६

गृहमन्त्री थापा र डा देवकोटाद्वारा राष्ट्रियसभा सदस्यमा उम्मेदवारी

रासस मे ७, २०२१

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडामा शुक्रबार उम्मेदवारीको मनोनयन दर्ता गराएका छन्  ।

उनको उम्मेदवारीका प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत छन् ।

गृहमन्त्री थापा आफ्नो मनोनयनपत्र दर्ता गर्न हेलिकोप्टरबाट हेटौँडा आइपुगेका थिए । सो पदमा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र)लगायत दलका समर्थनमा डा खिमलाल देवकोटाले पनि उम्मेदवारीको मनोनयनपत्र दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडाले जनाएको छ   

संघीयताविद् डा देवकोटाका प्रस्तावकमा माओवादी केन्द्र, वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा कांग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घले छन् ।

वाग्मती प्रदेशसभामा ६६ निर्वाचन क्षेत्रका ११९ स्थानीय तहका प्रमुख उपप्रमुख  २३८ र वाग्मती प्रदेशसभा सदस्य ११० जना गरी कूल ३४८  मतदाता रहेको प्रदेश निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए 

उनका अनुसार आगामी जेठ ६ गते हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित भुटनदेवी मावि भवनमा दुई मतदान केन्द्र रहने गरी व्यवस्थापन मिलाइएको छ ।  एउटा स्थानीय तहका लागि र अर्को प्रदेश सभा सदस्यका लागि केन्द्र निर्धारण गरिएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू