बेलायतका दन्त चिकित्सक रिजालको निर्देशनमा बन्यो अंग्रेजी फिल्म
लन्डन । पेशाले दन्त चिकित्सक हुन् डा. कपिल रिजाल । विगत अढाइ दशकदेखि बेलायत बस्दै आएका रिजालका यहां झण्डै आधा दर्जन डेन्टल सर्जरी चालु छन् । तर, अचेल उनी विल्कुल फरक क्षेत्र सिनेमामा रमाइरहेका छन् । त्यसो त उनको पारिवारिक पृष्ठभूमि पनि चिकित्सासंगै सिनेमा हो ।
फिल्म निर्माता, गीतकार तथा लोकप्रिय स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका छोरा कपिलले आफ्नै बाबुको पाइला पछ्याइरहेका छन् । उनी विदेशमा बसेर पनि नेपाली फिल्मलाई औधि माया गर्छन्, फिल्म निर्माण र निर्देशनमा आफूलाई अग्रसर गराइरहन्छन् ।
बेलायतमा च्यारिटी कर्म र विभिन्न संघसंस्थामा समेत आवद्ध रिजालले निर्देशन गरेको सर्ट मुभी (छोटो फिल्म) ‘कर्माः लाइफ इज अ बुमरयाङ, यु गेट ह्वाट यु गीभ’ सार्वजनिक भएको छ । दुई साताअघि यूट्युब च्यानलमार्फत रिलिज गरिएको ११ मिनेट २० सेकेन्डको अंग्रेजी सस्पेन्स थ्रिलर उक्त फिल्म जस्तो कर्म गरयो, त्यस्तै फल पाइन्छ भन्ने विषयमा केन्द्रित रहेको रिजालले बताए ।
फिल्म केआर प्रोडक्सन लन्डनको ब्यानरमा निर्माण भएको हो । कार्यकारी निर्माता छन् सपनकुमार राई, मिनो ओज, डेली एलन र सुमन श्रेष्ठ ।
फिल्ममा लन्डन बस्दै आएका नेपाली कलाकारहरु टंक धमला (लियो ट्यांक), सपनकुमार राईसहित डेली एलन, जेना मेसी, ज्याक मेसी, कार्ली बेक र निशान पुनको अभिनय छ । फिल्ममा रिजालकै कथा, पटकथा छ । पटकथामा लुक हन्टरले पनि साथ दिएका छन् ।
फिल्ममा बेलायतका चर्चित प्राविधिकले समेत काम गरेका बताइएको छ । सम्पूर्ण छायांकन लन्डनमै भएपनि फिल्मको पोष्ट प्रोडक्सन भने नेपालमा गरिएको हो ।
डा. रिजालले यसअघि कोभिड १९ महामारीको यथार्थ र पीडा समेटिएको ‘गिल्ट कोभिड १९’ नामक करिब ८ मिनेटको छोटो फिल्म निर्देशन गरेका थिए । उक्त फिल्मले कोभिड महामारीमा हरेक परिवारको भोगाइ प्रतिनिधित्व गर्दै केही सन्देशसमेत दिएको थियो ।
रिजाल छिट्टै फिचर फिल्म निर्देशन गर्ने सोचमा समेत छन् । कोभिडको असहज परिस्थिति सकिएपछि करिब २ घण्टा लामो सस्पेन्स र थ्रिलर फिल्म ‘किलर टु’ को छायांकन शुरु गरिने रिजालले बताए ।
उनले विभिन्न गीतका म्यूजिक भिडियो समेत निर्देशन गरिसकेका छन् । डा. रिजालको समेत लगानी रहेको ‘ड्रिम्स’ चलचित्र हिट भएको थियो ।
बेलायती तथा नेपाली व्यवसायीहरुको एउटा संगठन ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बिएनसीसी) का अध्यक्ष रिजनल बेलायतको सरी हिथ पार्लियामेन्ट्री विजनेश क्लब (स्ट्रेन्जेज ग्यालरी) का अध्यक्ष भइसकेका छन् ।
यस्तो बनेको छ फिल्म-