नेपालमा भयावह बन्दै कोरोना, मृतक संख्यामा नयाँ रेकर्ड
काठमाडौँ–कोभिड–१९ को सङ्क्रमित हुनेको सङ्ख्यामा दैनिक उकालो लागिरहेको छ । कोभिड–१९ को दोस्रो लहर बढेसँगै वैशाखको शुरु देखि सङ्क्रमित हुनेको सङ्ख्या दैनिक उकालो लागेको हो । प्रत्येक दिन सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ ।
आज देशभर सात हजार ६६० मा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाइएको छ । सोमबार (वैशाख २० गते) सात हजार ४४८, आइतबार (वैशाख १९ गते) सात हजार २११, शनिबार (वैशाख १८ गते) पाँच हजार ७६३ र शुक्रबार (वैशाख १७ गते) पाँच हजार ७२७ सङ्क्रमित देखिएका थिए ।
आज १६ हजार १३१ पिसिआरमा सात हजार ५८७ र ५६१ एन्टिजेनमा ७३ मा सङ्क्रमण देखिएको हो । आज देखिएका सङ्क्रमितसँगै कूल सङ्क्रमित तीन लाख ५१ हजार ५ पुगेको छ ।
यस्तै आज एक हजार ७७५ सङ्क्रमितबाट निको भएका छन् । अहिलेसम्म दुई लाख ८७ हजार ७९० निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ८२ प्रतिशत छ ।
५५ को निधन
यस्तै आज मात्र सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ५५ पुगेको छ । निधन हुनको यो सङ्ख्या हालसम्मकै उच्च हो । अहिलेसम्म तीन हजार ४१७ सङ्क्रमणबाट निधन भइसकेका छन् ।
२० जिल्लामा ५०० बढी सङ्क्रमित
यसैगरी ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २० पुगेका छन् । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, कास्की, दाङ्, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत र कैलाली रहेका छन् ।
आइसियुमा ६१६ र भेन्टिलेटरमा १७९
यस्तै सङ्क्रमितमध्ये ६१६ सघन उपचार कक्ष (आइसियु) र १७९ भेन्टिलेटरमा उपचार गराइरहेका छन् । आइसियुमा प्रदेश नं १ मा ९३, प्रदेश नं २ मा २४, वाग्मती प्रदेशमा ३२५, गण्डकी प्रदेशमा ४४, लुम्बिनी प्रदेशमा ६९, कर्णाली प्रदेशमा ३२ र सूदुरपश्चिम प्रदेशमा २९ उपचार गराइरहेका छन् ।
भेन्टिलेटरमा प्रदेश नं १ मा १८, प्रदेश नं २ मा दुई, वाग्मती प्रदेशमा १२४, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा १६ , कर्णाली प्रदेशमा सात र सूदुरपश्चिम प्रदेशमा १० उपचार गराइरहेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५