नेपालमा भयावह स्थिति, अहिलेसम्मकै उच्च ७ हजार नयाँ संक्रमित थपिए
२७ जनाको निधन



भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित नेपाल इन्जिनियरिङ कलेजमा कोरोना भाइरसबाट सङक्रमित भएका नागरिकका लागि स्थानीय सरकार र कलेजको सहयोगमा व्यवस्थापन गरिएको १०० बेडको आइसोलेसन सेन्टर । तस्बिर- रोशन सापकोटा रासस
काठमाडौं– देशभर गरिएको परीक्षणबाट हालसम्मकै उच्च सात हजारभन्दा बढी कोभिड–१९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले सात हजार २११ मा संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार १६ हजार १४७ पिसिआरमा सात हजार १३७ र ६२३ एन्टिजेन परीक्षणमा ७४ मा संक्रमण देखिएको हो । यससँगै नेपालमा तीन लाख ३६ हजार ३० जना संक्रमित भएका छन् । आज देखिएका संक्रमितमध्ये सबभन्दा बढी ३० देखि ३९ वर्ष उमेर समूहका एक हजार ८०९ र २० देखि २९ वर्ष उमेर समूहका एक हजार ७६७ रहेका छन् । त्यस्तै ९ वर्ष उमेर समूहका बालबालिका १६६, १० देखि १९ वर्ष उमेर समूहका ४५७ छन् ।
संक्रमितमध्ये निको भई एक हजार ६१२ जना घर फर्किएका छन् । अहिलेसम्म दुई लाख ८३ हजार ९९४ जना निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ८४.५ प्रतिशत छ ।
संक्रमणबाट आज २७ जनाको निधन भएको छ । नेपालमा अहिलेसम्म तीन हजार ३२५ जना संक्रमणबाट निधन भएका छन् । डा गौतमका अनुसार आज काठमाडौँ उपत्यकामा तीन हजार ५९५ संक्रमित थपिएका छन् ।
काठमाडौँमा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ संक्रमित भएका छन् । पाँच सयभन्दा बढी संक्रमण भएका जिल्ला १२ पुगेका छन् । प्रवक्ताका अनुसार तिनमा मोरङ, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली छन् ।
आइसीयूमा ४७७ र भेन्टिलेरमा १३१
संक्रमितमध्ये ४७७ सघन उपचार कक्ष (आइसीयू) र १३१ भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश नं १ मा ५४, प्रदेश नं २ मा २४, वाग्मती प्रदेशमा २५४, गण्डकी पाँच, लुम्बिनी ७७, कर्णाली ३३ र सूदुरपश्चिम ३० आइसीयूमा छन् ।
यस्तै प्रदेश नं १ मा १४, प्रदेश नं २ मा २, वाग्मती प्रदेशमा ७७, गण्डकी एक, लुम्बिनी २१, कर्णाली सात र सुदूरपश्चिममा नौ भेन्टिलेटर छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५