एनआरएनए यूके निर्वाचन जुलाई ३१ मा, संयोजक तोकिए पूर्व अध्यक्ष कंडेल
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी निर्वाचन जुलाई ३१ मा हुने भएको छ ।
शुक्रबार राती अबेर सम्पन्न कार्यसमितिको भर्चुअल पूर्ण बैठकले नवौं कार्यसमितिको निर्वाचन जुलाई ३१ लाई तय गरेको एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले नेपाली लिंकलाई जानकारी दिए ।
बैठकले निर्वाचन समितिको प्रमुख संयोजकमा संस्थाका संरक्षक समेत रहेका पूर्व अध्यक्ष महेन्द्रराज कंडेललाई नियुक्त गरेको छ । समितिमा बांकी सदस्य पछि थप गर्ने बताइएको छ ।
बैठकले सदस्यता प्रमाणिकरणको जिम्मा अध्यक्ष, महासचिव र कोषाध्यक्षलाई लगाउने निर्णय पनि गरेको छ ।
अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा कार्यसमितिका पदाधिकारीका साथै आइसीसी सदस्यहरु पनि सहभागी थिए ।
संघले गत अप्रिल १ देखि जुन १० सम्मको समयसीमा दिएर एमआइएस प्रणालीबाट पञ्जीकृत सदस्यता वितरण शुरु गरेको छ । एनआरएनए यूके निर्वाचन नजिकिंदै गर्दा आकांक्षीहरु मैदानमा उत्रने क्रम शुरु भएको छ ।
हालसम्म अध्यक्ष पदका लागि एनआरएनए यूके तीन उपाध्यक्षहरु रोजिनाप्रधान राई, प्रेम गाहामगर र सुनिलबाबु खड्का एवं इंग्ल्याण्ड राज्य समन्वय परिषद अध्यक्ष दीपक श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् । महासचिवमा भने जित रानाभाट र डा. मुकुन्द बास्तोलाले आकांक्षा देखाएका छन् ।