बेलायतमा कोरोनाबाट एक सातामा १३२ को मृत्यु
२४ घन्टामा १५ जनाको मृत्यु
लन्डन । बेलायतमा केहि समययता कोरोना संक्रमणका कारण हुने मृत्युमा निरन्तर कम हुदै गएको छ । सरकारी तथ्यांक अनुसार पछिल्लो एकसातामा १३२ जना संक्रमितको मृत्यु भएको छ ।
अघिल्लो साताको तुलनामा मृतक संख्या १८.५ प्रतिशतले ह्रास आएको हो । बितेको २४ घन्टामा १५ जना संक्रमितको मृत्यु भएसंगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या एक लाख २७ हजार ५१७ पुगेको छ ।
यसैगरी कोरोना संक्रमितको संख्या पनि अघिल्लो साताको तुलनामा योसाता १०.७ प्रतिशतले ह्रास आएको छ । पछिल्लो एकसातामा १५ हजार ५१४ जना संक्रमित भएका छन् ।
गएको २४ घन्टामा दुई हजार ३८१ नयाँ संक्रमित थपिएका छन् । यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख १६ हजार ६२३ पुगेको छ ।
बेलायतमा सक्रिय संक्रमितको संख्या ७४ हजार ३१५ छ भने ४२ लाख १४ हजार ७९१ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।
अस्पतालमा उपचार गराइरहेका र नयां भर्ना हुनेको संख्यामा पनि कमी आएको छ । शुक्रबार सार्वजनिक तथ्याँक अनुसार हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या १९६ छ ।
त्यस्तै, पछिल्लो तथ्यांक अनुसार १३२ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या एक हजार ४९७ छ ।
४ करोड ८७ लाख बढी खोप वितरण
बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि चार करोड ८७ लाख ४८ हजार ९६२ डोज वितरण भएको छ ।
तीन करोड ४२ लाख १६ हजार ८७ जनाले खोपको पहिलो र एक करोड ४५ लाख ३२ हजार ८७५ जनाले दोस्रो डोज लिएका छन् ।