इंग्ल्याण्डमा ४० वर्ष उमेरकालाई कोरोनाविरुद्ध खोप लगाउन आग्रह
लन्डन । इंग्ल्याण्डमा ४० वर्ष उमेर पुगेकाहरुले पनि कोरोना विरुद्धको खोप बुक गर्न सक्ने नेशनल हेल्थ सर्भिस (एनएचएस) ले जनाएको छ । ४२ वर्ष माथिकालाई खोप वितरण गरिने घोषणा गरिएको तीन दिनपछि ४० वर्ष माथिकालाई पनि खोप दिन शुरु गरिएको हो ।
४० र ४१ वर्ष उमेर पुगेकालाई खोपका लागि बुक गर्न मोबाइलमा म्यासेज पठाइने स्वास्थ्य विभागले जनाएको छ । खोप वितरण कार्यमा दिएको तीव्रतासंगै बेलायतमा कोरोना संक्रमण दरमा उल्लेखनीय कमी आएको छ । लकडाउन र कोरोनाविरुद्ध खोपका कारण संक्रमणदर र मृतक संख्यामा कमी आएको सरकारले दाबी गर्दै आएको छ ।
गत डिसेम्बरबाट शुरु गरिएको खोप अभियान अन्तर्गत हालसम्म ३४ मिलियनले खोपको पहिलो डोज लिएका छन् । यसैगरी युवा जनसंख्याको दुई तिहाइ अर्थात करिब १४ मिलियन मानिसले खोपको दोस्रो डोज समेत लिइसकेको तथ्यांकमा उल्लेख छ ।
४५ वर्ष माथिका १० मध्ये ९ जनाले खोप लगाइसकेको एनएचएस इंग्ल्याण्डका प्रमुख सर साइमन स्टिभेन्सले जानकारी दिएका छन् । यसैगरी लाखौं मानिसले खोपका लागि आवेदन दिइसकेका छन् ।
भर्खरैमात्र बेलायत सरकारले ‘फाइजर-वायोएनटेक’ को थप ६० मिलियन (६ करोड) डोज खोप सुरक्षित गरेको छ । ‘बुस्टर’ अर्थात् खोपको दोस्रो डोजको रुपमा वितरण गर्नका लागि थप डोज अर्डर गरिएको सरकारले जनाएको छ ।
बेलायतले फाइजरको ४० मिलियन डोज खोप यसअघि नै सुरक्षित गरिसकेको छ । यससंगै बेलायत सरकारले फाइजरको मात्र एक सय मिलियन डोज खोप अर्डर गरिसकेको छ ।
सरकारले अन्य थुप्रै कम्पनीका खोपहरु पनि सुरक्षित गरिसकेको छ जसमध्ये केहि खोपहरु अझै ‘क्लिनिकल ट्रायल’ मै छन् ।
बेलायतमा पछिल्लो समयमा कोरोना संक्रमण दरमा ह्रास आउंदै गएको छ । बिहीबार सार्वजनिक २४ घन्टाको तथ्यांक अनुसार दुई हजार २ सय ४५ नयां संक्रमित थपिएका छन्।