सोमबार, पुष २९, २०८१
06:25 | १२:१०

बेलायतद्वारा फाइजर खोपको थप ६ करोड डोज सुरक्षित

नेपाली लिङ्क अप्रिल २९, २०२१

लन्डन । बेलायत सरकारले ‘फाइजर-वायोएनटेक’ को थप ६० मिलियन (६ करोड) डोज खोप सुरक्षित गरेको छ । ‘बुस्टर’  अर्थात् खोपको दोस्रो डोजको रुपमा वितरण गर्नका लागि थप डोज अर्डर गरिएको हो ।

आउँदो ‘विन्टर’ अघि नै सो खोप शारीरिक रुपमा कमजोर व्यक्तिहरुलाई प्रथामिकताका आधारमा वितरण गरिनेछ । बेलायतका करिब दुई तिहाइ वयस्कहरुले खोपको पहिलो  डोज लिइसकेका छन् भने एक चौथाइले दुवै डोज लिइसकेका छन् ।

बेलायतले फाइजरको ४० मिलियन डोज खोप यसअघि नै सुरक्षित गरिसकेको छ । यससंगै बेलायत सरकारले फाइजरको मात्र एक सय मिलियन डोज खोप अर्डर गरिसकेको छ ।

बेलायत सरकारले अन्य थुप्रै कम्पनीका खोपहरु पनि सुरक्षित गरिसकेको छ जसमध्ये केहि खोपहरु अझै ‘क्लिनिकल ट्रायल’ मै छन् ।

बीबीसीले जनाएअनुसार बेलायत सरकारले हालसम्म फाइजर-वायोएनटेक, अक्सफोर्ड एस्ट्राजेनेका र भाल्नेभाको एक एक सय मिलियन, ग्लाक्सोस्मिथक्लाइन र नोभाभ्याक्सको ६० मिलियन, क्यूरभ्याकको ५० मिलियन, जानसेनको ३० मिलियन र मोडेर्नाको १७ मिलियन डोज खोप अर्डर गरिसकेको छ ।

बेलायतमा गत वर्ष डिसेम्बर ८ तारिखबाट कोरोनाविरुद्धको खोप वितरण शुरु गरिएको हो । सरकारले खोप वितरण कार्यमा दिएको तीव्रतासंगै बेलायतमा कोरोना संक्रमणमा उल्लेखनीय कमी देखिएको छ ।

बेलायतमा हालसम्म ४ करोड ७५ लाख भन्दा बढी खोप वितरण भइसकेको छ । जसमध्ये ३ करोड ३९ लाख ५९ हजार ९०८ जनाले पहिलो र एक करोड ३५ लाख ८१ हजार ७६ जनाले दुवै डोज लिएका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू