लन्डन बार्नेट र पोखरा महानगरबीच भगिनी सम्बन्ध
लन्डन –लन्डन बरो अफ बार्नेट तथा पोखरा महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम हुने भएको छ ।
लन्डन बरो अफ बार्नेटको सोमबार बसेको असाधारण बैठकले लन्डन बरो अफ बार्नेट तथा पोखरा महानगरपालिकाबीच भगिनी सम्बन्ध (सिस्टर सिटी रिलेशन) कायम गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
बैठकमा उक्त प्रस्ताव राख्दै लन्डन बरो अफ बार्नेटकी मेयर डा. क्यारोलिन स्टकले बेलायत र नेपालबीच ऐतिहासिक सम्बन्ध रहेको र दुई नगरहरुबीच भगिनी सम्बन्ध कायम हुँदा यो सम्बन्ध जनस्तरमा अरु बलियो हुने विश्वास व्यक्त गरिन् ।
उनले बार्नेटमा नेपाली समुदायको उल्लेख्य बसोबास रहेको र उनीहरुले बेलायतको सेवामा आफ्नो क्षेत्रबाट योगदान पुराइ रहेको जनाइन् । उनले त्यस्तो सम्बन्ध कायम गरिंदा दुबै नगरका वासिन्दाहरुबीच मित्र र सहयोगको प्रवर्द्धन हुनुका साथै सांस्कृतिक, आर्थिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा पनि आपसी सहयोग बढाउन मदत पुग्ने विचार व्यक्त गरिन् ।
उनले पोखरा महानगरपालिकासंग भगिनी सम्बन्ध कायम गर्न पहल गरेकोमा उपमेयर लक्ष्य गुरुङको प्रशंसा गरिन् ।
उक्त बैठकमा बोल्दै लन्डन बरो अफ बार्नेटका उप मेयर लक्ष्य गुरुङले नेपालको पर्यटन राजधानीको रुपमा चिनिएको पोखरा शहर अन्नपूर्ण सर्किटमा पदयात्रामा जाने पदयात्रीहरुका लागि ‘गेट वे’ भएको बताए ।
उनले भगिनी सम्बन्धले दुइ मुलुकहरु बीचको ऐतिहासिक सम्बन्ध अरु मजबूत हुने विश्वास व्यक्त गरे । सन् २००५ मा बार्नेटमा बसोबास गर्न आउँदादेखि नै दुई शहरबीच सम्बन्ध गांस्न पाए हुन्थ्यो भन्ने आफ्नो मनमा रहेको र अहिले त्यो सपना पुरा हुँदा आफूलाई अत्यन्तै खुसी लागेको उनले बताए ।
उनले उक्त प्रस्ताबलाई समर्थन गर्ने सबै दलहरुलाई धन्यवाद पनि दिए ।
आउंदो १९ मेमा एक सार्वजनिक कार्यक्रम गरेर भगिनी सम्बन्धबारे घोषणा गरिने छ । उक्त समारोहमा भर्चुएल माध्यमबाट पोखरा महानगरका जनप्रतिनिधिहरु पनि सहभागी हुने उपमेयर गुरुङले बताए ।