इंग्ल्याण्डमा ४२ वर्ष उमेरलाई पनि कोरोनाविरुद्ध खोप शुरु
लन्डन । बेलायतमा कोरोनाविरुद्धको खोप अभियानलाई तीव्रता दिएसंगै इंग्ल्याण्डमा ४२ वर्ष उमेर पुगेकालाई पनि खोप दिइने भएको छ । बीबीसीले जनाए अनुसार आउँदो जुलाईसम्म ४२ वर्ष पुग्नेहरुले पनि खोपको लागि दर्ता गर्न सक्नेछन् ।
४२ वर्ष पुगेकाहरुलाई म्यासेज मार्फत खोपको लागि दर्ता गर्न आग्रह गरिने स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले बताएका छन् । गत डिसेम्बर ८ बाट बेलायतमा शुरु भएको कोरोना विरुद्धको खोप अभियानमा हालसम्म ३३.७ मिलियनले खोपको पहिलो डोज लगाइसकेका छन् ।
यसैगरी करिब १२.९ मिलियन जनताले खोपको दुवै डोज लिइसकेका सरकारी तथ्यांकमा उल्लेख छ । खोप वितरण कार्यमा जनताले देखाएको उत्साहप्रति खुशी व्यक्त गर्दै स्वास्थ्यमन्त्रीले एक भिडियो पोष्ट गरेका छन् ।
त्यस्तै नर्दर्न आयरल्याण्डमा ३५ देखि ३९ वर्ष उमेरकालाई खोप वितरण शुरु गरिएको छ भने वेल्समा ४० वर्ष उमेरकालाई खोपको लागि दर्ता गर्न भनिएको छ । तर, कतिपय स्थानहरुमा भने ३० वर्षमाथिकालाई पनि खोप दिन थालिएको छ । उता स्कटल्याण्डले पनि ४५ वर्षमाथिका लागि दर्ता खुल्ला गरेको छ ।
कोरोना विरुद्धको खोप अभियान शुरु भएपछि संक्रमण दरमा ठूलो सुधार आएको सरकारले दावी गर्दै आएको छ । पछिल्लो तथ्यांक अनुसार दोस्रो लहरपछि इंग्ल्याण्ड र वेल्समा कोरोना सम्बन्धित मृत्युमा ९७ प्रतिशतसम्म कमी आएको समाचारमा उल्लेख छ ।
बेलायतमा सोमबारसम्मको तथ्यांक अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २७ हजार ४३४ पुगेको छ भने कुल संक्रमितको संख्या ४४ लाख ६ हजार ९४६ छ ।
सोमबार २४ घन्टामा ७ जना मात्र संक्रमितको मृत्यु भएको थियो भने करिब दुई हजार जति संक्रमित थपिएका थिए ।