मंगलबार, मंसिर ११, २०८१
16:32 | २२:१७

कोरोना कहर- पुन: सुनसान बन्यो सौराहा

रासस अप्रिल २७, २०२१

 

चितवन । कोभिड–१९ को पहिलो लहरले थिलोथिलो बनेको सौराहाको पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कन नपाउँदै पुनःदोस्रो लहर शुरु भएपछि व्यवसायी निराश छन् । पहिलो लहरको कोरोना घट्दै गएपछि व्यवसाय लयमा फर्किदै थियो ।

क्षेत्रीय होटल संघ अध्यक्ष दीपक भट्टराईका अनुसार कोरोनाको प्रभावलाई व्यवस्थापन गर्दै पूर्ववत् अवस्थामा आएका होटल एकाएक बन्द हुँदा सबैमा निराशा छाएको छ । 

होटलले बिदामा राखिएका मजदूर फिर्ता बोलाएको, मर्मतसम्भार गरेर होटललाई थप सुबिधा सम्पन्न बनाइएको भए पनि कोरोनाको दोस्रो लहरसँगै व्यवसाय ठप्प भएका छन् । 

अब समस्या नआउने अनुमानसहित व्यवसायीले ऋण थपेर होटलमा लगानीसमेत बढाएका थिए । अधिकांश होटलले ऋण बढाएर बैंकको व्याज तिरेका हुन् । भट्टराईले भने, ‘अब साउनसम्म व्यवसाय राम्रो होला भन्ने हाम्रो अपेक्षा थियो ।’

सौराहाका होटलमा धेरै व्यवसायिक कार्यक्रमका लागि बुकिङ आएका थिए । तीसँगै आन्तरिक पर्यटकका बुकिङ पनि रद्द भएका छन् । 

सौराहामा कोभिडका कारण दैनिक रु ८० देखि ८५ लाख नोक्सान बेहोर्नुपरेको संघ अध्यक्ष भट्टराई बताउँछन् । अघिल्लो वर्षको चैतदेखि होटल बन्द थिए । यसभन्दा अघिल्लो वर्षमा यतिवेला ८० देखि ८५ प्रतिशत बुकिङ हुने गर्दथ्यो । अहिले पनि ८० प्रतिशतसम्म बुकिङ पुगेकोमा एकाएक कोरोनाको दोस्रो लहर आएपछि होटल व्यवसाय प्रभावित भएको उनको भनाइ छ । 

हिजो आजका धेरै कार्यक्रम रद्द भएका छन् । उनले भने, ‘मेरै होटलमा आजबाट चार दिनसम्म हुने भनेको कार्यक्रम स्थगित भयो ।’  हाल सौराहा सुनसान हुँदै गएको छ । अहिले सौराहामा पाँच प्रतिशत हाराहारी मात्र ‘अकुपेन्सि’ छ । ‘अब मजदूरलाई के गर्ने रु ऋण कसरी तिर्ने सबैको चिन्ता यही छ’- उनले भने ।

युनिक वाइल्ड रिसोर्टमा यही वैशाख १२ गतेदेखि पूर्वनिर्धारित एमआरका दुई कार्यक्रम कोभिडको त्रासले रद्द भए । रिसोर्टका सञ्चालक गुणराज थपलियाका अनुसार वैशाख ११ र १२ गतेका लागि तय भएको अन्तरराष्ट्रिय क्लवको कार्यशाला पनि रद्द भएको छ । उनले एकाएक कोरोना बढेपछि होटल पूर्ण रुपमा प्रभावित भएको बताए । उनले भने, ‘कोरोनाको पहिलो लहरको प्रभाव न्यूनिकरण हुन नपाउँदै दोस्रो देखिएसँगै निराशा पैदा भएको छ ।’

सौराहामा पछिल्लो समय वीरगञ्ज, विराटनगर, काठमाडौं लगायतका शहरबाट आएर विवाह गर्ने प्रचलन पनि बढ्दै गएको थियो । कोरोना कहरले यसलाई पनि असर गरेको छ । भारतबाटसमेत विवाहका लागि सौराहा आउने क्रम शुरु भएको थियो । जंगल क्राउनका सन्तोष गिरीले बुकिङ भएको विवाह पनि स्थगित भएको जानकारी दिए । 

क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे पहिलो चरणको कोरोनाको प्रभाव जेनतेन व्यवस्थापन गर्न नपाउँदै अप्ठ्यारो स्थिति आएको गुनासो गर्छन् । सबै होटल पूर्ववत् अवस्थामा आएसँगै फेरी कोरोना बढेपछि प्रभावित भएको उनको भनाइ छ । उनले भने, ‘सबै बुकिङ रद्द भए । हाम्रो उत्साह हराएर गयो ।’

व्यवसायीका अनुसार सौराहामा ११५ होटल सञ्चालनमा छन् । ती होटलमा छ हजारभन्दा बढी बस्न सक्ने क्षमता छ । सौराहाको पर्यटन व्यवसायमा मात्र रु  ३३ अर्बभन्दा बढिको लगानी भएको व्यवसायी बताउँछन् । यहाँ पाँच हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । कोरोनाले होटल व्यवसायमा पार्ने प्रभावसँगै यसको लगानीको जोखिम र यसमा आश्रितको रोजगारीको समस्यासमेत हुने उनी बताउँछन् । 

कोरोना प्रभाव बढेसँगै सांस्कृतिक घर बन्द गरिएको छ । अन्य गतिविधि पनि क्रमश प्रभावित हुँदै गएका छन् । मुख्यरुपमा चितवन राष्ट्रिय निकुञ्जमा वन, वन्यजन्तु र चराचुरुङ्गीसँग रमाउन स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू