क्षेत्री समाज बेलायतले अघि बढायो च्यारिटी दर्ता प्रक्रिया
लन्डन– क्षेत्री समाज बेलायतले च्यारिटी दर्ता प्रक्रिया अघि बढाइएको छ । नेपालमा हुने विभिन्न किसिमका दैवीप्रकोप तथा संकटमा सहयोग पुर्याउदै आइरहेको संस्थालाई च्यारिटीको रुपमा दर्ता गर्न लागिएको हो ।
शनिबार सम्पन्न समाजको कार्यसमिति बैठकमा उपाध्यक्ष प्रकाश राउतले च्यारिटी दर्ता प्रक्रिया अघि बढेको जानकारी गराएका थिए ।
दर्ता प्रक्रियामा भएका कठिनाइ र समाधानको बारेमा पनि बैठकमा छलफल गरिएको थियो । साथै, उपाध्यक्ष राउतको संयोजकत्वमा निकट भविष्यमा एउटा च्यारिटी इभेन्ट गर्ने निर्णय समेत बैठकले गरेको छ ।
बैठकमा समाजले प्रत्येक वर्ष गर्दै आएको वार्षिक भेटघाट कार्यक्रम कोरोना संक्रमणका कारण गतवर्ष स्थगित भएको र यो वर्ष पनि सम्भव नहुने भएकाले ‘भर्चुअल’ भएपनि कार्यक्रम गर्ने विषयमा छलफल भएको छ ।
समाजका अध्यक्ष यज्ञ क्षेत्रीको अध्यक्षतामा सम्पन्न बैठकमा कार्यसमितिका पदाधिकारी र सदस्यहरुका साथै सल्लाहकार समेतको सहभागिता थियो ।
त्यस अवसरमा समाजको आर्थिक गतिविधिबारे कोषाध्यक्ष मनिष खड्काले जानकारी गराएका थिए । समाजका सदस्य डा मीन रानाभाटले शिक्षाको महत्वबारे प्रकाश पारे ।
यस्तै समाजका अर्का उपाध्यक्ष महेन्द्र केसीले खस समाज बेलायतसंग भएको वार्तासम्बन्धि प्रगति विवरण प्रस्तुत गरेका थिए । क्षेत्री समाजका लागि प्रिन्ट गरिएको टि-शर्ट र यसवापत भएको खर्चबारे उपाध्यक्ष श्रद्धा थापाले प्रष्ट पारेकी थिइन् ।
बैठकबाट सहकोषाध्यक्ष अन्जना थापालाई प्रोपर्टी सम्बन्धि जिम्मेवारी प्रदान गरिएको छ । समाजमा सदस्य संख्या वृद्धि र क्षेत्रीहरुलाई समाजप्रति आकर्षित गर्न आजीवन सदस्यता शुल्कलाई निश्चित समयको लागि न्यूनीकरण गर्ने निर्णय बैठकले गरेको छ । सदस्यता बन्न क्षेत्री समाजको वेबसाइटमा गएर आवेदन दिन सकिनेछ ।
समाजको गतिविधिलाई समाजसेवामा बढी उन्मुख गर्दै लैजानुपर्ने, नयाँ पुस्ताका युवाहरुलाई आकर्षित गर्नुपर्ने र च्यारिटी कार्यक्रम गरेर समाजको आर्थिक क्षेत्रलाई थप मजबुत पार्दै सामाजिक कार्यलाई बढी जोड दिनुपर्ने सल्लाहकारहरुको सुझाव थियो ।
कार्यक्रममा यज्ञ क्षेत्री, महेद्र केसी, श्रद्धा थापा, प्रकाश राउत, दीर्घ केसी, रूपेश राउत, मनिष खड्का, रूद्र खड्का, रामशरण सिंखडा, धन कुंवर, राजन कुमार क्षेत्री, गंगा क्षेत्री, मिलन केसी, डा मिन रानाभाट, अन्जना थापा, नरेन्द्र वस्नेत, राजु बोहरा, सरोज थापा, माया केसी, दिपक खड्कालगायत कार्यसमिति पदाधिकारी र सल्लाहकारहरुको उपस्थिति थियो ।
महासचिव दीर्घ केसीद्वारा संचालित कार्यक्रममा उपाध्यक्ष श्रद्धा थापाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने अध्यक्ष यज्ञ क्षेत्रीले कार्यक्रम समापन गरेका थिए ।
सल्लाहकार लामिछानेलाई बधाई
बेलायतका सफल युवा व्यवसायी, समाजका सल्लाहकार एवम् आजीवन सदस्य रविजंग लामिछानेले भर्खरै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विभूषण सुशोभन समारोहमा सुप्रवल जनसेवाश्री (तृतीय) मानपदवीबाट विभूषित भएकोमा समाजको तर्फबाट हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गरिएको छ ।
पर्वत तिलाहार गाविसका स्थायी बासिन्दा लामिछानेको सामाजिक योगदान उल्लेखनीय छ । नेपालमा विपत्तिको बेलामा उनले निरन्तर सहयोग गर्दै आएका छन् । केही महिनाअघि सरकारको कोरोना कोषमा समेत उनले १५ लाख रुपैयां सहयोग गरेका थिए ।
लामिछानेले महाभूकम्प पीडितको सहयोगका लागि नेपाल प्रहरी, नेपाली सेना तथा आफ्नो परिवारमार्फत ६ करोड बराबरको राहत सामग्री वितरण गरेका थिए । साथै प्रधानमन्त्री कोषमा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालामार्फत ५१ लाख १७ हजार ७२७ रुपैयां नगद जम्मा गरेका थिए ।
नेपालमा मात्र नभइ बेलायतमा पनि उनको योगदान महत्वपूर्ण रहँदै आएको छ । साउथ इष्ट लन्डनमा बनेको पहिलो नेपाली पशुपतिनाथ मन्दिरमा उल्लेखनीय आर्थिक सहयोग गरेका लामिछानेले अल्डरसट यूकेमा निर्माण अन्तिम चरणमा पुगेको शिव मन्दिरको प्रमुख आर्थिक दाता भएर झण्डै १५ हजार पाउण्ड बढी सहयोग गरेका छन् ।