बेलायतस्थित नेपालीभाषी बर्मेली सैनिक कूविरुद्ध भोक हड्तालमा
लन्डन । नेपाली मुलका बर्मेलीहरु म्यान्मारको सैनिक कूविरुद्ध भोक हड्तालमा उत्रिएका छन् ।
शनिबारदेखि तीन जना बर्मिज नेपाली बेलायती संसद भवन वेष्ट मिनिष्टर नजिक भोकहड्तालमा बसेको गोर्खा सोसाइटी अफ म्यान्मार यूकेका उपाध्यक्ष नमरज ज्ञवालीले जनाए ।
म्यान्मार स्टुडेन्टस् युनियन यूकेले गरेको भोक हडतालमा नेपालीले ऐक्यवद्धता जनाएका हुन् ।
बेलायत सरकारको कोभिड नियमका कारण तीन जनामात्र भोकहड्तालमा बसेको ज्ञवालीले बताए ।
‘धेरै नेपाली मुलका धेरै बर्मेली भोकहडतालमा बस्न इच्छुक भएपनि सरकारले अनुमति नदिएका कारण तीनजना मात्र बस्नु भएको हो’, ज्ञवालीले भने ।
लकडाउन खुलेपछि बेलायतको नेपाली समुदायसंग पनि सहकार्य गरि सैनिक कूविरुद्ध प्रदर्शन गर्ने तयारी भइरहेको ज्ञवालीले जानकारी दिए ।
यसअघि पनि नेपालीभाषी बर्मेलीले बेलायती संसद भवन अगाडि विरोध प्रदर्शन गरेका थिए ।
म्यान्मार स्टुडेन्टस् युनियन यूकेले बेलायती गृहमन्त्री प्रिति पटेललाई पत्र लेखी म्यान्मारको राज्य प्रशासनिक परिषद (स्टेट एडमिनिष्ट्रेसन काउन्सिल) लाई आतंककारी संगठनमा राख्न आग्रह गरेको थियो । युनियनले राजनीतिक अवस्थाका कारण म्यान्मार फर्कन नसकेका म्यान्मालीलाई प्रोटेक्सन भिजा दिन पनि आग्रह गरेको थियो । तर, सरकारबाट औपचारिक जवाफ आइनसकेको युनियनले जनाएको छ ।
गत फेब्रुअरी १ मा म्यान्मारको सेनाले कू गरि सत्ता हत्याएपछि त्यसविरुद्ध प्रदर्शन जारी छ । प्रदर्शनकारीलाई सेनाले दमन गर्दा ७ सय ५० बढीको ज्यान गइसकेको छ भने ४ हजार ५ सय बढीलाई गिरफ्तार गरिएको छ ।
‘हाम्रो परिवार पनि कुन बेला मरिने हो भन्ने डरले जंगलमा लुकेर बस्नु परेको छ’, ज्ञवालीले भने, ‘सेनाले कयौं नेपालीभाषीलाई पनि हत्या गरेको छ ।’