सोमबार, पुष २९, २०८१
06:02 | ११:४७

नेपाली कम्युनिष्ट आन्दोलनबारे बेलायतका कार्यकर्तालाई प्रशिक्षण

नेपाली लिङ्क अप्रिल २५, २०२१

लन्डन । नेकपा एमाले ओलीनिकट प्रवासी नेपाली एकता मञ्च बेलायतका कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पार्टीले जारी राखेको शुद्धिकरण र सुदृढिकरण अभियानअन्तर्गत आफ्ना समर्थक नेता तथा कार्यकर्ताहरूलाई नेपाली कम्युनिष्ट आन्दोलनबारे वैचारिक र सैद्धान्तिक ज्ञान अभिबृद्धि गर्ने उद्धेश्यले ‘भर्चुअल’ कार्यक्रम गरिएको हो ।

प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका स्थायी समिति सदस्य केशव बडालले ‘नेपालको कम्युनिष्ट आन्दोलन र अबको बाटो’ तथा विशेष अतिथि केन्द्रीय सदस्य मनोजजंग थापाले  ‘माओवादी जनयुद्ध र यसका सकारात्मक तथा नकारात्मक पक्षहरु’ विषयमा प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणको क्रममा नेता बडालले नेपाली कम्युनिस्ट आन्दोलनको आरोह अवरोहबारे व्याख्या गर्दै विभिन्न कालखण्डमा भएका कमीकमजोरीबारे स्पष्ट पार्ने कोशिस् गरे।

बडालले कम्युनिस्ट पार्टीको स्थापनापश्चात समयअनुकुल सहि नेतृत्व चयन गर्न नसक्दा केशरजंग रायमाझी जस्ता दक्षिणपन्थी धारको सृजना भई कम्युनिस्ट आन्दोलन कमजोर बनेको बताए ।  

सन् १९९० को दशकमा सोभियत रूस र पूर्वी युरोपमा विश्व कम्युनिष्ट आन्दोलनले भोगेको धक्काबाट नेपाली कम्युनिष्ट आन्दोलनलाई जोगाउन नेकपा मालेको पाँचौ महाधिवेशनबाट महासचिव मदन कुमार भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ को सिद्धान्तले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले उल्लेख गरे ।  

कार्यक्रमका अर्का विशिष्ठ अतिथी तथा प्रशिक्षक मनोजजंग थापाले बिश्व तथा नेपाली कम्युनिस्ट आन्दोलनमा जनतालाई भनिने सबै कुरा संधै पुरा हुन नसक्ने भन्दै समय र परिस्थिति अनुरुप यो परिवर्तन हुने जिकिर गरे । उनले नेकपा माओवादीको जनयुद्धका सकारात्मक र नकारात्मक पक्षहरुमा पनि बोले । 

माओवादीको राज्यसत्ता नै देशमा विद्यमान समस्याका मुख्य कारण हो भन्ने दाबी गर्दै त्यसको अन्त्यका लागि जनयुद्धले केही सकारात्मक योगदान गरेको उनको भनाइ थियो ।

नेपालका दुर्गम गाउँमा रहेको जातीय विभेद र अन्याय विरूध  बोल्न जनयुद्धले पीडित जनतालाई सुसुचित गरेको उनको धारणा थियो ।

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको देश विकास चाहाना तथा उनले विभिन्न समयमा देखाएको   स्वाधीनता र राष्ट्रप्रेमी भावनाले नेकपा एमालेको पक्षमा ब्यापक जनलहर बढिरहेको थापाको भनाइ थियो ।

कार्यक्रममा मञ्चका महासचिव सुरेशजंग शाहले स्वागत मन्तब्य राखेका थिए भने संयोजन मञ्चका वैचारिक अनुसन्धान बिभागका संयोजक बालकृष्ण भुसालले गरेका थिए।

उक्त कार्यक्रममा प्रवासी नेपाली एकता मन्चका कयौँ देशका नेताहरूको पनि सहभागिता थियो । कार्यक्रमको अध्यक्षता तथा समापन प्रवासी नेपाली एकता मन्च वेलायत तथा अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङले गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू