सोमबार, पुष २९, २०८१
03:59 | ०९:४४

बेलायतमा कोरोनाबाट ३२ को मृत्यु, २०६१ संक्रमित

नेपाली लिङ्क अप्रिल २४, २०२१

लन्डन । विश्वका केहि मुलुकमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै गर्दा बेलायतमा भने कोरोना संक्रमण तथा मृत्यु दर दुवैमा कमी आएको छ । पछिल्लो समयमा भारत सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ ।

त्यहाँ दैनिक संक्रामित संख्या तीन लाख ८६ हजारसम्म पुगेको छ भने दैनिक मृताक संख्या पनि दुई हजार छ सय नाघेको छ ।

तर, बेलायतमा भने अझै आंशिक लकडाउन जारी रहंदा कोरोनाको प्रभाव पछिल्ला दिनहरुमा निरन्तर ओरालो लाग्दै गएको छ ।

बितेको २४ घन्टामा थप ३२ जना कोरोना संक्रमितको मृत्यु भएको भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

योसंगै बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ४१७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा दुई हजार ६१ जना नयां संक्रमित थपिएका छन् । यससंगै बेलायतमा संक्रमितको संख्या ४४ लाख ३ हजार १७० पुगेको छ ।

हाल बेलायतमा सक्रिय संक्रमितको संख्या ९२ हजार २१० छ भने ४१ लाख ८९ हजार १५४ जना कोरोना संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, पछिल्लो तथ्यांक अनुसार १३२ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या एक हजार ७ सय ८१ छ ।

यसैगरी २४३ जनालाई भेन्टिलेटर बेडमा राखेर उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ ।

४ करोड ५५ लाख बढी खोप वितरण

बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि चार करोड ५५ लाख ८० हजार ४०० डोज खोप वितरण भएको छ ।

तीन करोड ३५ लाख ८ हजार ५९० जनाले खोपको पहिलो र एक करोड २० लाख ७१ हजार ८१० जनाले खोपको दोस्रो डोज लिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू